विपद् उद्धारमा प्रहरीलाई सुनचाँदी व्यवसायी संघ चितवनद्वारा ७० हजार रुपैयाँ बराबरको उद्धार सामग्री हस्तान्तरण

विहीबार, ०८ असोज २०८३, १२ : २८

काठमाडौं- विपद्का बेला उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले वडा प्रहरी कार्यालय नारायणगढ (पुल्चोक) लाई करिब ७० हजार रुपैयाँ बराबरको उद्धार सामग्री हस्तान्तरण गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईलीको विशेष उपस्थितिमा मंगलबार सामग्री हस्तान्तरण गरिएको हो। संघले रेस्क्यु थ्रो ब्याग, वाटर हेल्मेट, लाइफ ज्याकेट, १० एमएम स्टाटिक रोप, गमबुट, ब्याक बोर्ड (स्ट्रेचर) र फोर्स लाइटलगायतका सामग्री उपलब्ध गराएको छ।

उक्त सामग्री विपद्का समयमा खोज, उद्धार तथा आपत्कालीन सेवामा प्रयोग हुने जनाइएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष रसाईलीले सुरक्षा निकाय र निजी क्षेत्रबीचको सहकार्यले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए। व्यवसायीहरू व्यापारिक गतिविधिमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रसर रहेको उल्लेख गर्दै उनले नागरिकको जीवनरक्षा तथा मानवीय सेवाका कार्यमा प्रहरीसँगको समन्वय र सहकार्यलाई आगामी दिनमा थप सशक्त बनाउने बताए।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेमबहादुर विश्वकर्माले सुरक्षा निकायसँगको सहकार्य समाजप्रतिको उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको बताए। विपद्का बेला पहिलो पंक्तिमा खटिने प्रहरीलाई आवश्यक उद्धार सामग्री उपलब्ध गराउनु संघको सामाजिक दायित्व भएको उनको भनाइ छ।

उद्धार सामग्री ग्रहण गर्दै वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक कुशराम कार्कीले संघप्रति आभार व्यक्त गरे। प्राप्त सामग्रीले विपद्का समयमा प्रहरीको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने उनले बताए।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा सल्लाहकार चित्रबहादुर खाती विश्वकर्मा, प्रवक्ता लालबहादुर विश्वकर्मा, कोषाध्यक्ष रमेशचन्द्र सदाशंकर, सचिव प्रेमबहादुर विश्वकर्मा, कार्यालय सचिव शर्मिला विश्वकर्मालगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।

कार्यक्रमको सहजीकरण संघका महासचिव गोपालबहादुर वि.क. थापाले गरेका थिए भने समन्वय वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क. ले गरेका थिए।

विहीबार, ०८ असोज २०८३, १२ : २८

प्रतिक्रिया