वाणिज्य बैंक

वाणिज्य बैंकहरूको कर्जा प्रवाह बढ्यो, दुई महिनामै ६० अर्बभन्दा बढी लगानी, कसको कति ?

विहीबार, ०८ असोज २०८३, १२ : ३२

काठमाडौं- चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानीमा उल्लेख्य सुधार देखिएको छ। साउन र भदौमा २० वटा वाणिज्य बैंकको कुल कर्जा लगानी ६० अर्ब ९७ करोड रुपैयाँले बढेको हो।

भदौ मसान्तसम्म वाणिज्य बैंकहरूको कुल कर्जा लगानी ५३ खर्ब ५० अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो कर्जा लगानी ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो।

कर्जा विस्तारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। बैंकले दुई महिनामा २० अर्ब १ करोड रुपैयाँ कर्जा थप्दै भदौ मसान्तसम्म कुल कर्जा लगानी ४ खर्ब ९६ अर्ब ८५ करोड रुपैयाँ पुर्‍याएको छ। यससँगै कुल कर्जा लगानीको आकारमा पनि ग्लोबल आईएमई पहिलो स्थानमा उक्लिएको छ।

एभरेष्ट बैंकले दुई महिनामा १२ अर्ब ८८ करोड रुपैयाँ कर्जा विस्तार गरेको छ। बैंकको कुल कर्जा लगानी २ खर्ब ६० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। लक्ष्मी सनराइज बैंकले १० अर्ब ३१ करोड रुपैयाँ कर्जा थप्दै कुल कर्जा लगानी ३ खर्ब ३० अर्ब ७७ करोड रुपैयाँ पुर्‍याएको छ।

कुमारी बैंकको कर्जा लगानी ७ अर्ब ६५ करोड रुपैयाँले बढेको छ भने नबिल बैंकले ७ अर्ब ६ करोड रुपैयाँ कर्जा थपेको छ। त्यस्तै, सिद्धार्थ बैंकको कर्जा ४ अर्ब ८० करोड, माछापुच्छ्रे बैंकको ४ अर्ब ७४ करोड र एनएमबि बैंकको ४ अर्ब २९ करोड रुपैयाँले बढेको छ।

कृषि विकास बैंकले ६९ करोड रुपैयाँ कर्जा थपेको छ भने नेपाल बैंकको कर्जा लगानी २ अर्ब १९ करोड रुपैयाँले बढेको छ।

तर, सबै वाणिज्य बैंकको कर्जा लगानी भने बढेको छैन। दुई महिनाको अवधिमा २० मध्ये ८ वटा बैंकको कर्जा पोर्टफोलियो घटेको छ। सबैभन्दा ठूलो गिरावट एनआईसी एशिया बैंकमा देखिएको छ। बैंकको कर्जा लगानी ६ अर्ब ६९ करोड रुपैयाँले घटेर भदौ मसान्तमा २ खर्ब ४ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ।

सानिमा बैंकको कर्जा लगानी ३ अर्ब ४६ करोड रुपैयाँले घटेको छ। राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब १ करोड, प्रभु बैंकको २ अर्ब ७९ करोड र प्राइम कमर्सियल बैंकको १ अर्ब ४१ करोड रुपैयाँले कर्जा घटेको छ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा ५३ करोड र हिमालयन बैंकको ३१ करोड रुपैयाँले घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा लगानी पनि दुई करोड रुपैयाँले घटेको छ।

यसरी चालु आर्थिक वर्षको सुरुवाती दुई महिनामै अधिकांश बैंकले कर्जा विस्तार बढाउँदा समग्र वाणिज्य बैंकिङ क्षेत्रमा कर्जा प्रवाहले गति लिन थालेको देखिएको छ।

विहीबार, ०८ असोज २०८३, १२ : ३२

प्रतिक्रिया