काठमाडौं- नेपालको ऊर्जा क्षेत्रलाई उत्पादन, लगानी, प्रविधि र नवप्रवर्तनसँग जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा आगामी माघ ३, ४ र ५ गते काठमाडौंमा एक्स्पो आयोजना हुन लागेको हो ।
‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल’ भन्ने नारासहित आयोजना हुने एक्स्पो इप्पानको स्थापना दिवसको अवसरमा आयोजना गर्न लागिएको हो । सन् २०१७, २०१८, २०२२ र २०२४ मा भएका संस्करणको निरन्तरताका रूपमा यसपटक पाँचौँ संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
नेपालको विद्युत् उत्पादन क्षमता करिब ४ हजार ३०० मेगावाट पुगेको अवस्थामा सरकारले सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । उक्त लक्ष्य पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, घरेलु विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तार आवश्यक रहेको आयोजकको भनाइ छ ।
हाल करिब ६ हजार ४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् भने १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता ९पीपीए० का लागि आवेदन दिएर निर्माणको तयारीमा रहेको जनाइएको छ । निर्माण सम्पन्न आयोजनामा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको आयोजकले जनाएको छ ।
ऊर्जा क्षेत्रको विस्तारसँगै जलवायु परिवर्तनजन्य जोखिम पनि बढ्दै गएकाले सुरक्षित तथा उत्थानशील ऊर्जा पूर्वाधार निर्माणलाई समेत एक्स्पोले प्राथमिकतामा राख्ने भएको छ । पछिल्ला वर्षमा बाढी, पहिरो तथा गेग्रान बहावका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेका घटनालाई ध्यानमा राख्दै जलवायु–उत्थानशील पूर्वाधार, जोखिम न्यूनीकरण, नयाँ प्रविधि तथा लगानीका विषयमा बहस र अनुभव आदानप्रदान गरिनेछ ।
एक्स्पोमा जलविद्युत्सँगै सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, कृत्रिम बुद्धिमत्ता, इन्टरनेट अफ थिङ्स तथा जलवायु प्रविधिलाई समेटिनेछ । यसमार्फत एकीकृत हरित ऊर्जा बजार निर्माणको अवधारणालाई अघि बढाइने आयोजकले जनाएको छ ।
एक्स्पोका प्रमुख आकर्षणका रूपमा व्यवसाय–व्यवसाय बैठक, हिमालयन ग्रीन इनर्जी सम्मेलन, अन्तर्राष्ट्रिय देशगत प्रदर्शनी कक्ष, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, विद्युतीय सवारी ¥याली तथा गाला नेटवर्किङ डिनर आयोजना गरिनेछ ।
प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि प्रदर्शन गरिनेछ । विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धालाई समेत समावेश गरिनेछ ।
भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक गणतन्त्र, इटली, स्वीडेन, बेलायत र ब्राजिललगायतका मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी गरिएको छ । सरकारी तथा नियामक निकाय, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था र ऊर्जा क्षेत्रका विज्ञलाई एक्स्पोमा सहभागी गराइनेछ ।
आयोजकका अनुसार एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् भने तीन दिनमा ३० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । एक्स्पोले ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मका सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने लक्ष्य राखेको छ ।
एक्स्पोका लागि सहभागिता तथा प्रदर्शनी कक्ष बुकिङ खुला गरिएको आयोजकले जनाएको छ । सहभागिता तथा प्रदर्शनी कक्ष बुकिङसम्बन्धी थप जानकारीका लागि इप्पान सचिवालय तथा एक्स्पो व्यवस्थापक इभेन्ट्स सोलुसन प्रालिमा सम्पर्क गर्न आयोजकले आग्रह गरेको छ ।
प्रतिक्रिया