अफगानिस्तानमाथि नेपालको शानदार जित, एसियाली खेलकुदमा ५ विकेटले विजयी

शुक्रबार, ०९ असोज २०८३, १४ : ०२

काठमाडौं- एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित हात पारेको छ। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।

नेपालको जितमा सन्दीप जोराले ३४ र कप्तान रोहित पौडेलले ३३ रनको योगदान गरे। जोराले ३५ बलमा ३४ रन बनाए भने रोहितले ३२ बलमा ३३ रन जोडे।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १८ बलमा १५ रन बनाए। गुल्सन झाले १ बलमा १ रन जोड्दै नेपाललाई विजयी बनाए।

नेपालको सुरुवात भने कमजोर रह्यो। कुशल भुर्तेल शून्य तथा आसिफ शेख २ रनमै आउट भए। त्यसपछि ब्याटिङमा आएका सन्दीप जोराले रोहित पौडेलसँग महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले। जोरा रनआउट भए भने कुशल मल्ल पनि ९ रनमा रनआउट भए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। उसका लागि फैजल खान अहमदजाइ र नजिबुल्लाह जाड्रानले समान ३० रन बनाए। नानगेयलिया खानले अविजित १७ रन जोडे।

अफगानिस्तानका अन्य ब्याटरमा करिम जनतले ९, मोहम्मद इशकले ७, मोहम्मद अक्रमले २ र हसन इसाखिलले शून्य रन बनाए। अब्दुल्लाह अहमदजाइले १ रन जोडे।

नेपालका ललित राजवंशीले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए। कुशल भुर्तेलले ४ ओभरमा २१ रन खर्चिँदै ३ विकेट हात पारे। अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले समान १ विकेट लिए।

यस जितसँगै नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेटमा महत्वपूर्ण जित दर्ता गरेको छ।

शुक्रबार, ०९ असोज २०८३, १४ : ०२

प्रतिक्रिया