काठमाडौं- चिनियाँ स्मार्टफोन निर्माता भिभोले आफ्नो नयाँ अपरेटिङ सिस्टम ओरिजिनओएस ७ सार्वजनिक गरेको छ। भिभोका अनुसार नयाँ प्रणालीलाई अझ सहज, स्मार्ट र व्यक्तिगत स्मार्टफोन अनुभव प्रदान गर्ने गरी विकास गरिएको हो। यसमा टच प्रतिक्रिया, प्रणालीको गति र कार्यक्षमतामा सुधार गर्दै दैनिक प्रयोगको ६ वर्षसम्म पनि सहज रूपमा सञ्चालन हुने गरी प्रणाली तयार गरिएको छ।
ओरिजिनओएस ७ को मुख्य विशेषतामध्ये ओरिजिन वर्कबेन्च रहेको छ। यसले स्मार्टफोनमा एकैपटक धेरै काम गर्न सहज बनाउने भिभोले जनाएको छ। यससँगै विभिन्न उपकरणबीच सहज रूपमा सामग्री तथा काम आदानप्रदान गर्न सकिने सुविधा र भिभोको व्यक्तिगत कृत्रिम बौद्धिकता सहायक जोभी समेत समावेश गरिएको छ।
कार्यक्षमतामा सुधार
ओरिजिनओएस ७ मा नयाँ पुस्ताको ओरिजिन स्मुथ इन्जिन प्रयोग गरिएको छ। यसमा ग्राफिक्स प्रशोधन, स्मृति व्यवस्थापन र प्रणाली सञ्चालनका लागि नयाँ संरचना अपनाइएको छ। अल्ट्रा(कोर कम्प्युटिङ प्रविधिले आवश्यकताअनुसार प्रशोधन क्षमता व्यवस्थापन गर्ने भएकाले खेल खेल्ने तथा एकैपटक धेरै काम गर्दा पनि फोनको प्रतिक्रिया सहज रहने भिभोको दाबी छ।
भिभोका अनुसार यसले एप खोल्न लाग्ने समय १० प्रतिशतले घटाउनुका साथै एपका पृष्ठहरूबीच परिवर्तन हुने गति ११ प्रतिशतले सुधार गर्छ।
त्यस्तै, मेमोरी फ्युजन प्रविधिले स्मृति व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै २५६ जीबी क्षमताको उपकरणमा २५ जीबीसम्म अतिरिक्त भण्डारण उपलब्ध गराउने कम्पनीले जनाएको छ। डुअल रेन्डरिङ प्रविधिले दृश्य प्रशोधनको क्षमता १४।४ प्रतिशतसम्म सुधार गर्ने बताइएको छ।
स्पर्शदेखि परिवर्तनसम्म सहज अनुभव
ओरिजिनओएस ७ मा ओरिजिन एनिमेसनमार्फत स्वाइप, ट्याप तथा विभिन्न परिवर्तनलाई प्राकृतिक भौतिक नियमअनुसार प्रस्तुत गरिएको छ। फ्लुइड मोसनले स्क्रिनका तत्वहरूलाई औंलाको गतिअनुसार तन्किने, उफ्रिने तथा प्रतिक्रिया दिने बनाउँछ।
त्यस्तै, स्प्रिङ एनिमेसनले प्रणालीभरि प्राकृतिक गतिमा आधारित एनिमेसन उपलब्ध गराउनेछ। यी सुविधाले स्क्रोलिङ तथा विभिन्न पृष्ठबीचको परिवर्तनलाई थप सहज र प्राकृतिक बनाउने कम्पनीको भनाइ छ।
एकैपटक पाँचवटासम्म एप सञ्चालन
ओरिजिन वर्कबेन्चले प्रयोगकर्तालाई एउटै कार्यक्षेत्रमा पाँचवटासम्म सक्रिय एप व्यवस्थापन गर्न दिनेछ। उदाहरणका लागि, प्रयोगकर्ताले उच्च गुणस्तरको भिडियो निर्यात गरिरहँदा एकै समयमा नोट हेर्न, सामग्री खोज्न र प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नेछन्।
भिभोले ओरिजिनओएस ७ को दीर्घकालीन कार्यक्षमता परीक्षणका लागि ७२ महिनाको ‘एन्टी(एजिङ’ परीक्षण गरेको जनाएको छ। यसबाट दैनिक प्रयोगको ६ वर्षसम्म प्रणालीको प्रतिक्रिया क्षमताबारे परीक्षण गरिएको कम्पनीको भनाइ छ।
विभिन्न उपकरणबीच सहज कनेक्टिभिटी
ओरिजिनओएस ७ प्रयोगकर्ताले पहिले नै प्रयोग गरिरहेका विभिन्न उपकरणसँग सहज रूपमा जोडिन सक्ने गरी विकास गरिएको छ। एप्पल वाचबाट सूचना हेर्न तथा ओरिजिन हेल्थ एपसँग व्यायाम र स्वास्थ्यसम्बन्धी तथ्यांक समक्रमण गर्न सकिनेछ।
त्यस्तै, एयरपड्स तत्काल जोडिनुका साथै ब्याट्रीसम्बन्धी जानकारी ओरिजिन आइल्यान्डमार्फत हेर्न र स्पेसियल अडियो प्रयोग गर्न सकिनेछ।
भिभो अफिस किटमार्फत आईप्याड, म्याक तथा विन्डोज उपकरणलाई पनि जोड्न सकिनेछ। यसबाट काम अर्को उपकरणमा निरन्तरता दिन, नोटहरू वास्तविक समयमै समक्रमण गर्न तथा विभिन्न स्क्रिनबीच फाइल स्थानान्तरण गर्न सकिनेछ। आईक्लाउडमा सुरक्षित गरिएका फाइल तथा तस्बिरसमेत भिभो फाइल म्यानेजरबाट सिधै पहुँच गर्न सकिने कम्पनीले जनाएको छ।
व्यक्तिगत कृत्रिम बौद्धिकता सहायक ‘जोभी’
ओरिजिनओएस ७ मा समावेश जोभीलाई भिभोले मोबाइल र कम्प्युटरबीच जटिल काम व्यवस्थापन गर्न सक्ने व्यक्तिगत कृत्रिम बौद्धिकता सहायकका रूपमा प्रस्तुत गरेको छ।
भिभो अफिस किटसँग जोडिएर जोभीले फोन र कम्प्युटरबीच विभिन्न काम समन्वय गर्न सक्नेछ। प्रयोगकर्ताले एउटै आदेशमार्फत जोडिएको कम्प्युटरबाट फाइल खोज्न, महत्वपूर्ण जानकारीको सारांश तयार गर्न र उक्त सामग्री स्मार्टफोनमा पठाउन सक्नेछन्।
जोभीले साप्ताहिक प्रतिवेदन तयार गर्ने तथा फाइलहरू स्वचालित रूपमा व्यवस्थित गर्नेजस्ता निर्धारित कामसमेत गर्न सक्नेछ। स्न्याप नोट सुविधाले ह्वाइटबोर्ड, हस्तलिखित नोट तथा प्रस्तुतीकरणका स्लाइडका तस्बिरलाई सम्पादन गर्न मिल्ने व्यवस्थित दस्तावेजमा रूपान्तरण गर्नेछ।
प्रयोगकर्ताको नियन्त्रण र पारदर्शितालाई ध्यानमा राख्दै जोभी सेक्युरिटीले कृत्रिम बौद्धिकता सहायकले गरेका स्वचालित गतिविधिको अभिलेख राख्ने र महत्वपूर्ण कामका लागि प्रयोगकर्ताको अनुमति आवश्यक पर्ने व्यवस्था गरिएको छ।
थप व्यक्तिगत बनाइएको डिजाइन
ओरिजिनओएस ७ मा लकस्क्रिन र होमस्क्रिनलाई थप व्यक्तिगत बनाउन विभिन्न नयाँ डिजाइन सुविधा पनि समावेश गरिएको छ।
विगल थिमले व्यक्तिगत तस्बिरलाई स्पर्श गर्दा तरंगिने तथा संकुचित भएर पुनः सामान्य अवस्थामा फर्किने तरल सतहजस्तो प्रभाव दिनेछ। ग्लिन्ट थिमले उपकरणको झुकाइअनुसार जाइरोस्कोप सेन्सरको प्रयोग गरी वालपेपरमा प्रकाश र छायाको प्रभाव देखाउनेछ।
स्टिकइटमार्फत लकस्क्रिन, होमस्क्रिन तथा ‘अलवेज(अन डिस्प्ले’मा गतिशील तस्बिर संयोजन बनाउन सकिनेछ। पेट पाल्सले उपकरणको चाल, चार्जिङ अवस्था, संगीत बजिरहेको अवस्था तथा दिन–रातको परिवर्तनअनुसार प्रतिक्रिया दिने अन्तरक्रियात्मक थिम उपलब्ध गराउनेछ।
उपलब्धता
ओरिजिनओएस ७ को पूर्वावलोकन कार्यक्रम २१ सेप्टेम्बरदेखि भारत, थाइल्यान्ड र मलेसियामा भिभो एक्स३०० प्रो तथा केही आईक्यूओओ उपकरणका लागि सुरु भएको छ।
यसपछि यो प्रणाली एक्स५०० सिरिज, नयाँ एक्स फोल्ड तथा भी सिरिजका उपकरणमा पनि उपलब्ध हुने भिभोले जनाएको छ। विभिन्न सुविधा बजार तथा क्षेत्रअनुसार फरक हुन सक्ने कम्पनीले स्पष्ट पारेको छ।
प्रतिक्रिया