सल्यान- खलंगा–शीतलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १०औँ साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष केशव बुढाथोकीको अध्यक्षतामा सम्पन्न सभामा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी प्रमुख अतिथि तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा वडा अध्यक्ष, खानेपानी कार्यालयका इन्जिनियरलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव इन्दिरा भण्डारीले गर्नुभएको थियो।
सभालाई सम्बोधन गर्दै शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले खानेपानी नागरिकको मौलिक अधिकार भएकाले नगरपालिकाले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले खानेपानी क्षेत्रका लागि एक अर्ब रुपैयाँभन्दा बढी बजेट ल्याउन नगरपालिका सफल भएको जानकारी दिँदै विकास निर्माणका काममा आमनागरिकको सकारात्मक सोच र सहयोग आवश्यक रहेको बताए।
त्यस्तै, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले खानेपानी मौलिक अधिकार भए पनि सरकारले यस क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको बताए। उनले विद्युत् महसुल, मूल्य अभिवृद्धि कर, ब्याजदर तथा उपभोक्ताको सहभागितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराए।
अध्यक्ष ओलीले सडक तथा भवन निर्माणमा जनताबाट अतिरिक्त रकम उठाउन नपर्ने भए पनि खानेपानीजस्तो मौलिक अधिकारको क्षेत्रमा उपभोक्ताबाट ३० प्रतिशत लगानी मागिनु न्यायोचित नभएको बताए। उनका अनुसार करिब ८० प्रतिशत नागरिकलाई उपभोक्ता समितिमार्फत खानेपानी सेवा सञ्चालन तथा वितरण भइरहेको अवस्थामा सरकारले करिब २० प्रतिशत नागरिकलाई मात्र सेवा दिँदै आएको छ।
उपभोक्ता संस्थाले ठूलो संख्यामा नागरिकलाई खानेपानी सेवा पुर्याउँदै आए पनि त्यस्ता संस्थालाई पर्याप्त बजेट विनियोजन नगरिनु उपभोक्तामाथि अन्याय भएको उनको भनाइ थियो।
साधारणसभामा संस्थाका सचिवले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको छ।
सभाको समापन गर्दै संस्थाका अध्यक्ष केशव बुढाथोकीले संस्थाको क्षमता विकास, प्रविधिमैत्री सेवा र आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए। उनले संस्थालाई थप प्रभावकारी र सेवामुखी बनाउँदै उपभोक्तालाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।
प्रतिक्रिया