काठमाडौं- असोज ९ गतेदेखि परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् संरचनामा ठूलो क्षति पुगेको छ। बाढीपहिरोका कारण कुश्मा–दाना, त्रिशूली, मर्स्याङ्दी, सेती–मादी, कालीगण्डकी तथा समुद्रटारलगायतका क्षेत्रमा गरी कुल १ हजार २९२ मेगावाट क्षमताका जलविद्युत् आयोजना प्रभावित भएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रसारण लाइनतर्फ कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना–कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। उक्त क्षतिका कारण सात वटा जलविद्युत् केन्द्रबाट उत्पादित करिब १९० मेगावाट विद्युत् प्रसारण अवरुद्ध भएको छ।
सडकसमेत अवरुद्ध रहेकाले क्षतिग्रस्त प्रसारण लाइनको विस्तृत निरीक्षण तथा मर्मतमा कठिनाइ भइरहेको प्राधिकरणले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।
यस्तै, प्राधिकरणको सहायक कम्पनीद्वारा प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट, डक्ट र टर्बाइन फ्लोरमा पानी पसेको छ। उक्त संरचनाको मर्मत गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ।
यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले माथिल्लो त्रिशूली–३ बीको २२० केभी हब तथा विभिन्न जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो। त्यसबेला करिब ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको थियो।
भोटेकोशी–त्रिशूली बाढीबाट प्राधिकरण तथा उसका सहायक कम्पनीका संरचनामा मात्रै करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो बाढीपहिरोले समेत विद्युत् उत्पादन तथा प्रसारण संरचनामा थप क्षति पुर्याएपछि मर्मत तथा पुनःस्थापनाको चुनौती बढेको छ।
प्रतिक्रिया