काठमाडौं- बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गए पनि कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा विकास बैंकहरूमा अधिक तरलताको समस्या देखिएको छ। लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा विस्तार हुन नसक्दा विकास बैंकहरूको आम्दानीमा दबाब परेको छ। यसैबीच बैंकहरूको कर्मचारीतर्फको खर्च भने बढ्दै गएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका १७ वटा विकास बैंकले कर्मचारीको तलब तथा भत्तामा मात्रै कुल ७ अर्ब ३ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६० करोड ३० लाख रुपैयाँ बढी हो। अघिल्लो आवमा विकास बैंकहरूले कर्मचारीको तलब तथा भत्तामा ६ अर्ब ४३ करोड २० लाख रुपैयाँ खर्च गरेका थिए।
एक वर्षमा विकास बैंकहरूको कर्मचारी खर्च करिब ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। कर्मचारी पारिश्रमिकमा सबैभन्दा धेरै खर्च गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ। राष्ट्रियस्तरको उक्त बैंकले आव २०८२/८३ मा कर्मचारीको तलब तथा भत्तामा मात्रै १ अर्ब ३८ करोड १० लाख ६० हजार रुपैयाँ खर्च गरेको छ।
त्यसपछि गरिमा विकास बैंकले कर्मचारी पारिश्रमिकमा ९७ करोड ३३ लाख २० हजार रुपैयाँ खर्च गरेको छ। सांग्रिला डेभलपमेन्ट बैंकले ८६ करोड ८ लाख ३० हजार रुपैयाँ, कामना सेवा विकास बैंकले ७१ करोड ९४ लाख ७० हजार रुपैयाँ र महालक्ष्मी विकास बैंकले ६९ करोड ९० लाख ७ हजार रुपैयाँ खर्च गरेका छन्।
त्यस्तै, ज्योति विकास बैंकले कर्मचारीको पारिश्रमिकमा ६४ करोड ६४ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ६१ करोड ७८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ। लुम्बिनी विकास बैंकले कर्मचारीको तलब तथा भत्तामा ४४ करोड १८ लाख ६० हजार रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
राष्ट्रियस्तरका विकास बैंकको तुलनामा क्षेत्रीयस्तरका विकास बैंकको कर्मचारी खर्च भने कम देखिएको छ। एक्सेल डेभलपमेन्ट बैंकले आव २०८२/८३ मा कर्मचारी पारिश्रमिकमा २१ करोड ३८ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ। मितेरी डेभलपमेन्ट बैंकले ७ करोड ४० लाख २० हजार रुपैयाँ खर्च गरेको छ।
यसैगरी, सप्तकोशी डेभलपमेन्ट बैंकले कर्मचारीको पारिश्रमिकमा ११ करोड ३० लाख ७ हजार रुपैयाँ, सिन्धु विकास बैंकले ९ करोड ७८ लाख ४० हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकले ६ करोड ६४ लाख रुपैयाँ र सालपा विकास बैंकले ५ करोड १ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।
राष्ट्र बैंकका अनुसार कर्मचारीतर्फ सबैभन्दा कम खर्च गर्नेमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक रहेका छन्। आव २०८२/८३ मा कर्णालीले कर्मचारीको तलब तथा भत्तामा ३ करोड ४७ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकले २ करोड ३४ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ।
यस अवधिमा नारायणी डेभलपमेन्ट बैंकले कर्मचारीको तलब तथा भत्तामा २ करोड १५ लाख ४० हजार रुपैयाँ खर्च गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
प्रतिक्रिया