काठमाडौं- बालबालिकाको पोषण सुधारसँगै किसानले उत्पादन गरेको दूधको बजार विस्तार गर्ने उद्देश्यसहित यस वर्षको विश्व स्कुल दूध दिवस मनाइँदैछ। नेपाल डेरी एसोसिएसनले विद्यालय दूध कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।
हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस यस वर्ष सेप्टेम्बर ३० अर्थात् २०८३ असोज १४ गते बुधबार मनाइँदैछ। विद्यालयमा दूधको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने र विद्यालय दूध कार्यक्रमलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशमा यो दिवस मनाउने गरिएको छ।
दिवसको अवसरमा नेपाल डेरी एसोसिएसन केन्द्रीय समिति र बागमती प्रदेश समितिको संयुक्त आयोजनामा ललितपुर महानगरपालिका–११ स्थित श्री कुम्भेश्वर आधारभूत विद्यालयमा सचेतनामूलक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक डा। बालक चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने एसोसिएसनले जनाएको छ। कार्यक्रममा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ र अप्टिमिस्ट क्लब डेरी इन्टरप्रेनर्सको समेत सहकार्य रहेको छ।
एसोसिएसनका अनुसार बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि सन्तुलित आहार र पर्याप्त पोषण आवश्यक हुन्छ। दूध तथा दुग्धजन्य पदार्थ प्रोटिन, क्याल्सियम र भिटामिन बी–१२ लगायतका पोषक तत्त्वका स्रोत भएकाले बालबालिकाको सन्तुलित आहारमा यसको महत्त्वपूर्ण भूमिका रहन सक्छ।
विश्व स्कुल दूध दिवसलाई विद्यार्थीलाई दूध सेवन गराउने दिनका रूपमा मात्र नभई पोषण शिक्षा, स्वस्थ खानपानको बानी र सुरक्षित तथा गुणस्तरीय दूधको महत्त्वबारे चेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने एसोसिएसनको भनाइ छ।
नेपालजस्तो कृषि तथा पशुपालनमा आधारित अर्थतन्त्र भएको मुलुकमा विद्यालय दूध कार्यक्रमलाई किसान, दुग्ध सहकारी, दूध संकलन केन्द्र, डेरी उद्योग र विद्यालयबीचको मूल्य शृंखलासँग जोड्न सकिने एसोसिएसनले जनाएको छ। विद्यालयमा दूधको माग बढ्दा किसानले उत्पादन गरेको दूधको बजार विस्तार हुनुका साथै स्थानीय दुग्ध उद्योग, रोजगारी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न सक्ने उसको भनाइ छ।
एसोसिएसनले संघीय, प्रदेश तथा स्थानीय सरकार, विद्यालय, किसान, दुग्ध सहकारी, डेरी उद्योग, शिक्षक, अभिभावक तथा सम्बन्धित संघसंस्थाबीच सहकार्य गरी राष्ट्रिय विद्यालय दूध कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।
नीति, मापदण्ड, बजेट, गुणस्तर र प्रभावकारी अनुगमनको व्यवस्था गरी कार्यक्रमलाई नियमित र दिगो रूपमा सञ्चालन गर्न सके बालबालिकाको पोषण सुधारसँगै किसानको दूधको बजार विस्तार र स्वदेशी दुग्ध क्षेत्रको विकासमा समेत योगदान पुग्ने एसोसिएसनको अपेक्षा छ।
विश्व स्कुल दूध दिवसको अवसरमा एसोसिएसनले विद्यालय तहमा सुरक्षित र गुणस्तरीय दूधको पहुँच विस्तार गर्न तथा बालबालिकाको पोषण र स्वस्थ भविष्यका लागि दूध तथा दुग्धजन्य पदार्थको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न सबै सरोकारवालासँग सहकार्यको अपिल गरेको छ।
एसोसिएसनले दिवसलाई एक दिन दूध सेवन गराउने कार्यक्रमभन्दा बाल पोषण, किसानको उत्पादनको बजार, स्वदेशी दुग्ध उद्योग र ग्रामीण अर्थतन्त्रलाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ।
प्रतिक्रिया