अपडेट

मोरङ–६ मा कांग्रेसको क्षेत्रीय अधिवेशनअघि झडप, उम्मेदवारसहित नेता कार्यकर्ता घाइते

बुधबार, १४ असोज २०८३, १४ : ४१

काठमाडौं- मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन प्रक्रिया सुरु गर्ने तयारी भइरहेका बेला कार्यकर्ताबीच झडप भएको छ।

सुन्दरहरैंचास्थित सिग्देल प्रतिष्ठानको गेटमा बुधबार भएको झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तवदार, चेतराज रेग्मीलगायत नेता–कार्यकर्ता घाइते भएका कांग्रेस नेताहरूले बताएका छन्।

झडपपछि क्षेत्रीय अधिवेशनको मनोनयन प्रक्रिया प्रभावित भएको छ। घटनालाई लिएर कांग्रेसभित्रै आरोप–प्रत्यारोप सुरु भएको छ। एक पक्षले अर्को पक्षले नियोजित रूपमा आक्रमण गराएको आरोप लगाएको छ भने क्षेत्रीय सभापति देवराज तामाङले उक्त आरोप अस्वीकार गरेका छन्।

तामाङले आफूले कसैमाथि आक्रमण गर्न निर्देशन नदिएको दाबी गर्दै घटनामा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन्।

क्षेत्रीय अधिवेशनका लागि सिग्देल प्रतिष्ठानमा कार्यक्रम तय गरिएको थियो। क्षेत्रीय सभापति तामाङले निर्वाचन समितिलाई पत्र पठाउँदै बिहान ११ बजेदेखि निर्वाचन प्रक्रिया सुरु गर्न आग्रह गरेको कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले बताइन्।

संग्रौलाका अनुसार तामाङले आफूलाई समेत कार्यक्रम उद्घाटनका लागि बोलाएका थिए। उद्घाटनपछि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु गर्ने तयारी रहेको उनको भनाइ छ।

यता क्षेत्रीय सभापति तामाङले भने आफूले बिहान ९ बजेका लागि कार्यक्रम तय गरेको र सहमहामन्त्री संग्रौला प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको बताएका छन्। झडपका कारण अधिवेशनको निर्वाचन प्रक्रिया अन्योलमा परेको छ।

बुधबार, १४ असोज २०८३, १४ : ४१

प्रतिक्रिया