इनफिनिक्स हट ७० प्रो नेपालमा सार्वजनिक, मासिक २ हजार ६५० रुपैयाँमा शून्य प्रतिशत ईएमआई

विहीबार, १५ असोज २०८३, १६ : २५

काठमाडौं- इनफिनिक्सले आफ्नो लोकप्रिय हट सिरिजअन्तर्गत नयाँ हट ७० प्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ। नयाँ स्मार्टफोनमा दमदार कार्यक्षमता, १४४ हर्जको सहज डिस्प्ले, पाँचौं पुस्ताको मोबाइल नेटवर्क, उत्कृष्ट क्यामेरा र लामो समय टिक्ने ब्याट्रीलगायतका विशेषता रहेका छन्।

हट ७० प्रो मा मिडियाटेक डाइमेन्सिटी ७१०० पाँचौं पुस्ताको चिपसेट प्रयोग गरिएको छ। फोनमा ६।७६ इन्चको एफएचडी प्लस डिस्प्ले तथा १४४ हर्जको रिफ्रेस रेट रहेको छ। कम्पनीका अनुसार यसले भिडियो हेर्दा, खेल खेल्दा, सामाजिक सञ्जाल चलाउँदा तथा दैनिक प्रयोगमा सहज दृश्य अनुभव प्रदान गर्छ।

फोनमा ५० मेगापिक्सेलको सोनी आईएमएक्स८८२ मुख्य क्यामेरा तथा ८ मेगापिक्सेलको अगाडिको क्यामेरा रहेको छ। मुख्य क्यामेराबाट स्पष्ट तथा विस्तृत तस्बिर र भिडियो खिच्न सकिने कम्पनीको दाबी छ।

हट ७० प्रो मा ६ हजार एमएएच क्षमताको ठूलो ब्याट्री राखिएको छ। यसमा ४५ वाटको द्रुत चार्जिङ, बाइपास चार्जिङ तथा १० वाटको रिभर्स तारयुक्त चार्जिङ सुविधा उपलब्ध छ।

एन्ड्रोइड १६ मा आधारित एक्सओएस १६ मा सञ्चालन हुने फोनले तीनवटासम्म प्रमुख एन्ड्रोइड प्रणाली अद्यावधिकसमेत समर्थन गर्ने कम्पनीले जनाएको छ। करिब ७।९ मिलिमिटर पातलो शरीर रहेको फोनमा आईपी६८ धुलो तथा पानी प्रतिरोध क्षमता र एमआईएल–एसटीडी टिकाउपन प्रमाणीकरण रहेको छ।

हट ७० प्रो दुई संस्करणमा उपलब्ध छ। ८ जीबी र्‍याम तथा १२८ जीबी भण्डारण भएको संस्करणको मूल्य ५२ हजार ९९९ रुपैयाँ तथा ८ जीबी र्‍याम र २५६ जीबी भण्डारण भएको संस्करणको मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ।

फोन खरिदलाई सहज बनाउन इनफिनिक्सले १२ महिनाको शून्य प्रतिशत ईएमआई सुविधा ल्याएको छ। ८ जीबी र्‍याम तथा १२८ जीबी संस्करणका लागि २१ हजार २०० रुपैयाँ अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक २ हजार ६५० रुपैयाँका दरले १२ महिनामा भुक्तानी गर्न सकिनेछ।

त्यस्तै, ८ जीबी र्‍याम तथा २५६ जीबी संस्करणका लागि २२ हजार ८०० रुपैयाँ अग्रिम भुक्तानी गरेपछि बाँकी रकम मासिक २ हजार ८५० रुपैयाँका दरले १२ महिनामा भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।

उक्त किस्ता सुविधा गुडविल फाइनान्स, निओफिन हायर पर्चेज तथा एमएडब्ल्यूलगायतका वित्तीय साझेदारमार्फत उपलब्ध हुनेछ। किस्ता सुविधाका लागि ग्राहकले मान्य नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्नेछ। किस्ता स्वीकृति तथा अन्य नियम तथा सर्त सम्बन्धित वित्तीय साझेदारको प्रक्रियाअनुसार लागू हुनेछन्।

हट ७० प्रो सार्वजनिकसँगै इनफिनिक्सले ‘फ्री फायर’सँग पनि सहकार्य गरेको छ। कम्पनीले खेलप्रेमीलाई लक्षित गर्दै १४४ हर्जको डिस्प्ले, पाँचौं पुस्ताको मोबाइल नेटवर्क, डाइमेन्सिटी ७१०० चिपसेट र ६ हजार एमएएच ब्याट्रीमार्फत खेल तथा मनोरञ्जनको अनुभवलाई थप आकर्षक बनाउने जनाएको छ।

हट ७० प्रो नेपालभरका आधिकारिक इनफिनिक्स स्टोर तथा विभिन्न स्मार्टफोन पसलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
 

विहीबार, १५ असोज २०८३, १६ : २५

प्रतिक्रिया