काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन भएको छ।
सोमबार पत्रकार सम्मेलनमार्फत नेता खनालले अभियान गठन गरिएको जानकारी दिएका हुन्। अभियानको हालै बसेको बैठकले विभिन्न १५ बुँदे प्रस्तावसमेत पारित गरेको उनले जानकारी दिए।
पारित प्रस्तावमा बृहत् वाम एकता आजको आवश्यकता भएको उल्लेख गरिएको छ। अभियानले एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा समेत जोड दिएको छ।
प्रस्तावको १४औँ बुँदामा सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीलाई सही वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा एकताबद्ध गर्दै एकीकृत नेकपा निर्माणको दिशामा योगदान पुर्याउन आह्वान गरिएको छ।
त्यसका लागि कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी तथा चुनौतीको गम्भीर समीक्षा गर्दै क्रान्तिकारी वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा संगठनात्मक पुनर्गठन तथा एकीकरणको प्रक्रिया अघि बढाउन अभियानले आह्वान गरेको छ।
त्यस्तै, अभियानले नेपाली विशेषताको समाजवादबारे खुला वैचारिक बहसका लागि आह्वान गरेको छ। कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनमा समेत जोड दिइएको छ।
पारित प्रस्तावमा सम्पूर्ण समाजवादी तथा क्रान्तिकारी शक्तिलाई क्रान्तिकारी वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा वैचारिक, सैद्धान्तिक, संगठनात्मक, कार्यशैलीगत, पद्धतिगत र आचरणगत विषयमा खुला तथा नीतिनिष्ठ बहसमा सहभागी हुन आह्वान गरिएको छ।
प्रतिक्रिया