फोनपे अनर्स मार्फत नेपालको डिजिटल अर्थतन्त्रका निर्माता अनर्सित

नेपालको डिजिटल भुक्तानी इकोसिस्टममा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यको अनर्स गर्ने वार्षिक मञ्च

आइतबार, २५ असोज २०८३, १४ : ०६

काठमाडौं- नेपालको अग्रणी अन्तरसञ्चालित डिजिटल भुक्तानी सञ्जाल फोनपेले नेपालको डिजिटल भुक्तानी इकोसिस्टममा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यको अनर्स गर्ने समर्पित वार्षिक मञ्च फोनपे अनर्स २०८३ को पहिलो संस्करण आयोजना गरेको छ।

काठमाडौंस्थित द सोल्टीमा आयोजित उक्त भव्य समारोहमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, उद्योग क्षेत्र, फिनटेक, व्यवसायी, प्रविधि साझेदार, अन्तर्राष्ट्रिय भुक्तानी साझेदार, सञ्चारमाध्यम तथा डिजिटल इन्फ्लुएन्सरसहित ४०० भन्दा बढी वरिष्ठ प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका प्रमुख कार्यकारी अधिकृत, नेपाल राष्ट्र बैंकका अधिकारी तथा उद्योग क्षेत्रका नेतृत्वकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालका पूर्वअर्थमन्त्री रामेश्वर खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुका साथै उनले विशेष सम्बोधन गरेका थिए। नेपालको डिजिटल भुक्तानी यात्राबारे बोल्दै उनले भने, “नेपालको वित्तीय तथा आर्थिक क्षेत्रमा डिजिटल भुक्तानीको भूमिका निरन्तर बढ्दै गएको छ। त्यसैले अझ बढी डिजिटल अर्थतन्त्रतर्फ अघि बढ्दै गर्दा हामीले निरन्तर नवप्रवर्तन, सहकार्य र जिम्मेवार विकासलाई प्राथमिकता दिन आवश्यक छ। फोनपे र यसका साझेदारहरूले निर्माण गरेको संरचना केवल भुक्तानी सञ्जाल मात्र होइन। यो हरेक नेपालीलाई भोलिको अर्थतन्त्रसँग जोड्ने वित्तीय पुल हो।”

अनर्स समारोहअघि फोनपे ले उपस्थित अतिथिहरूमाझ विभिन्न नयाँ उत्पादन तथा नवप्रवर्तनहरू सार्वजनिक गरेको थियो। यी नयाँ समाधानहरूले डिजिटल भुक्तानीलाई अझ स्मार्ट, सहज, पहुँचयोग्य तथा समावेशी बनाउने फोनपे को निरन्तर प्रयासलाई थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।

अटोपे बाइ फोनपे ले ग्राहकहरूलाई नियमित तथा दोहोरिने भुक्तानीहरू स्वचालित रूपमा व्यवस्थापन गर्न सक्षम बनाउँछ। यसमार्फत युटिलिटी बिल, सदस्यता शुल्क तथा नियमित रकम स्थानान्तरणजस्ता भुक्तानीका लागि पटक–पटक म्यानुअल प्रक्रिया अपनाउनुपर्ने आवश्यकता कम हुन्छ। फोनपे सर्कल ले समूहमा हुने खर्च व्यवस्थापन तथा रकम बाँडफाँटलाई सहज बनाउँदै परिवार, व्यवसाय तथा समुदायमा सामूहिक भुक्तानीलाई सरल र व्यवस्थित बनाउने सुविधा प्रदान गर्दछ।

टक टु पे ले आवाजमार्फत भुक्तानी गर्ने सुविधा प्रस्तुत गर्दछ। यसमार्फत ग्राहकहरूले कुराकानीमा आधारित आवाज निर्देशन प्रयोग गरी कारोबार सुरु तथा सम्पन्न गर्न सक्नेछन्, जसले टाइप गर्नुभन्दा आवाजमार्फत प्रविधि प्रयोग गर्न सहज महसुस गर्ने प्रयोगकर्तालाई डिजिटल भुक्तानीमा थप पहुँच प्रदान गर्नेछ।

त्यसैगरी, फोनपे बिजनेस एपलाई पुनः ब्रान्डिङ गरी फोनबिज का रूपमा प्रस्तुत गरिएको छ। व्यवसायका दैनिक गतिविधिलाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन तयार गरिएको सम्पूर्ण व्यावसायिक समाधान प्लेटफर्म हो। यसमार्फत व्यवसायहरूले ग्राहकबाट प्राप्त हुने भुक्तानी ट्र्याक गर्न, कर्मचारीको तलब तथा विक्रेतालाई भुक्तानी गर्न, विस्तृत व्यावसायिक प्रतिवेदन हेर्न, व्यावसायिक कर्जाका लागि आवेदन दिन तथा लोयल्टी कार्यक्रमहरूमा सहभागी हुन सक्नेछन्—यी सबै सुविधा एउटै एपमार्फत उपलब्ध हुनेछन्।

आइतबार, २५ असोज २०८३, १४ : ०६

प्रतिक्रिया