अपडेट

आज दशैंको पाँचौँ दिनः स्कन्दमाताको पूजा गरिँदै

विहीबार, २९ असोज २०८३, ०७ : ४३

काठमाडौं- बडादशैंको पाँचौँ दिन आज नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको पूजा–आराधना गरी मनाइँदैछ । नवरात्रको यस दिन भक्तजनले देवी स्कन्दमाताको विधिपूर्वक पूजा गरी सुख, शान्ति, समृद्धि र सन्तानको कल्याणको कामना गर्ने धार्मिक विश्वास छ ।

भगवान् स्कन्दकुमार अर्थात् कार्तिकेयलाई काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने देवी भएकाले उहाँलाई स्कन्दमाता भनिएको धार्मिक मान्यता छ । भगवान् कार्तिकेयको अर्को नाम स्कन्द हो, जसलाई ज्ञानशक्ति र कर्मशक्तिको प्रतीकका रूपमा लिइन्छ । स्कन्दमातालाई ज्ञान र कर्मशक्तिको देवीस्वरूपका रूपमा पूजा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार स्कन्दमाता चार हात भएकी देवी हुनुहुन्छ । उहाँले माथिल्लो दाहिने हातले बालरूपका स्कन्दकुमारलाई काखमा समात्नुभएको हुन्छ भने तल्लो बायाँ हातमा कमलको फूल र माथिल्लो हातमा वरमुद्रा धारण गर्नुभएको हुन्छ । उहाँ कमलको आसनमा विराजमान भई सिंहमा सवार रहनुहुन्छ ।

सूर्यमण्डलकी अधिष्ठात्री देवीका रूपमा समेत परिचित स्कन्दमाताको वर्ण सूर्यको जस्तै तेजस्वी र देदीप्यमान रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । उहाँको आराधनाले भक्तजनमा ज्ञान, शक्ति, साहस र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास गरिन्छ ।

स्कन्दमाताको पूजा विधि

स्कन्दमाताको पूजा गर्न सर्वप्रथम पूजास्थललाई शुद्ध गरी काठको चौकोसमा देवीको प्रतिमा स्थापना गरिन्छ । त्यसपछि गङ्गाजल वा गोमूत्रले पूजास्थल शुद्धीकरण गरी जल भरिएको कलश स्थापना गर्ने परम्परा छ । पूजास्थलमा श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका र सप्त घृत मातृकासमेत स्थापना गरिन्छ ।

त्यसपछि व्रत तथा पूजाको सङ्कल्प गरी वैदिक मन्त्र र दुर्गा सप्तशतीका मन्त्रद्वारा देवी स्कन्दमातासहित स्थापित देवताहरूको पूजा गरिन्छ । षोडशोपचार विधिअनुसार देवीलाई आवाहन, आसन, पाद्य, अर्घ्य, आचमन, स्नान, वस्त्र, चन्दन, सिन्दूर, पुष्प, धूप, दीप, नैवेद्य र फलफूल अर्पण गरिन्छ ।

पूजाको अन्त्यमा आरती, प्रदक्षिणा र मन्त्रपुष्पाञ्जली गरी प्रसाद वितरण गर्ने चलन छ । नवरात्रका पाँचौँ दिन स्कन्दमाताको आराधना गर्नाले भक्तजनको मनोकामना पूरा हुने र परिवारमा सुख, शान्ति तथा समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ ।

विहीबार, २९ असोज २०८३, ०७ : ४३

प्रतिक्रिया