सन्दीप एक्लैले ५ विकेट लिएर पनि नेपालले हार्यो

५ बर्ष अगाडि

काठमाडौँ ।  मलेसियामा जारी एशिया कप छनोट क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा मङ्गलबार हङकङबिरुद्ध नेपाल ३ विकेटले पराजित भएको छ ।

जीतका लागि ९६ रनको झिनो लक्ष्य पाएको हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पछ्यायो ।

झिनो लक्ष्य भए पनि नेपाली बलरहरुले हङकङका ब्याट्सम्यानहरुलाई अन्तिम समयसम्म दबाबमा राखेका थिए । 

सन्दीप लामिछानेले १० ओभरमा मात्र २७ रन खर्चेर ५ विकेट लिए भने बसन्त रेग्मी र सागर पुनले १–१ विकेट लिएएपछि हङकङका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् । 

तर, हङकङका कप्तान अन्शुमान रथले अर्धशतक बनाएपछि नेपालले हार जोगाउन सकेन । योसँगै नेपालको एशिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको छ ।

रथले ८२ बलमा ५२ रन बनाए भने किन्चित साहले ११ रनको योगदान दिए ।

यसअघि नेपाल मात्र ९५ रनमा सिमित बनेको थियो । 

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले खेलमा निरिह प्रदर्शन गर्दै ३७।५ ओभरमा अलआउट हुन पुग्यो ।

६ खेलाडीले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । 

आरिफ शेखले सर्वाधिक १८ रनको योगदान दिए भने अनिल कुमार साह र बसन्त रेग्मीले समान १५ रनको योगदान दिए ।

कप्तान पारस खड्काले १४ तथा उपकप्तान ज्ञानेन्द्र मल्लले १२ रन बनाए ।

५ बर्ष अगाडि

प्रतिक्रिया