काठमाडौं - अन्तर्राष्ट्रिय हवाई उडान क्षेत्रमा गएको दुई वर्षमा अधिकतम ७३.२७ प्रतिशतले यात्रु घट्न पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार गत सन् २०१९ मा अन्तर्राष्ट्रिय उडान तर्फ कुल ४१ लाख ३८ हजार ५६३ जनाले हवाई यात्रा गरेकोमा सन् २०२० मा यस्तो संख्या अधिकतम ७३.२७ प्रतिशतले घट्न गई ११ लाख ५ हजार ९२९ मा झरेको हो ।
यसैगरी आन्तरिक उडानतर्फ सन् २०१९ मा ३१,८८,४२९ हवाई यात्रु आवागमन भएकोमा सन् २०२० मा यो संख्या ५९.४६ प्रतिशतले घट्न गई १२, ९२, ५२१ कायम हुन पुगेको क्यानले जनाएको छ । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष समेत घोषणा गरेकोमा उक्त वर्ष पर्यटन बढ्न गई हवाई यात्रुको चहलपहलमा उल्लेखनीय बृद्धि हुने अपेक्षा गरिएकोमा कोभिड १९ का महामारीको कारण हवाई तथा पर्यटन क्षेत्र प्रभावित हुन पुगेको प्राधिकरणले जनाएको छ ।
हाल अन्तर्राष्ट्रिय उडानतर्फ ३ वटा नेपाली वायुसेवा र २७ वटा विदेशी वायुसेवा गरी ३० वटा वायुसेवाले १५ मुलुकको ३२ वटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी एयर अरेबिया अबुधाबीले १८ अक्टुबर २०२० देखि नेपालमा आफ्नो नियमित उडान प्रारम्भ गरेको छ ।
प्रतिक्रिया