५ महिनामा व्यापार घाटा रु.७३५ अर्ब ४९ करोड पुग्यो, आयात निर्यात कति ?

२ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्ष पाँच महिनामा कुल वस्तु निर्यात १०५.६ प्रतिशतले वृद्धि भई रु.१०२ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५.१ प्रतिशतले वृद्धि भएको थियो । 

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १३८.० प्रतिशत र २८.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जस्तापाता, तार, तामाको तार लगायतका
वस्तुको निर्यात घटेको छ ।

यस्तै,समीक्षा अवधीसम्ममा वस्तु आयात ५९.५ प्रतिशतले वृद्धि भई रु.८३८ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४४.६ प्रतिशत, ५७.८ प्रतिशत र १११.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, औषधी, यातायातका साधन तथा पार्टपुजा,कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दाल, मोलासिस सुगर, कीटनाशक, सुर्ती लगायतका वस्तुको आयात घटेको छ ।
 
निर्याततर्फ कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।
आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई रु.७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया