२०७८ मा नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च, एक वर्षमा १२ हजारले बढ्यो

विहीबार, ०१ बैशाख २०७९, १९ : ४९

वि.सं २०७८ फागुन महिनामा सुनको मूल्यले ऐतिहासिक रुपमा नै नयाँ रेकर्ड कायम गरेको थियो । महासंघका अनुसार फागुन २५ गते नेपालकै इतिहासमा सुनको मूल्य उच्च बनेको हो ।

उक्त दिन नेपाली सुन बजारमा छापावाला सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ५ हजार रुपैयाँमा कायम भएको थियो । यसअघि २०७७ साउन २३ गते सुनको भाउमा सबैभन्दा उच्च मूल्यको रेकर्ड कायम रहेको थियो ।

उक्त दिन कारोबार भएको सुनको मूल्यको रेकर्डलाई तोड्दै फागुन २५ गते नयाँ रेकर्ड कायम भएको हो । २०७७ साउन २३ गते छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

एक वर्षमा १२ हजार रुपैयाँले बढ्यो 
एक वर्षको अवधिमा नेपालमा सुनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वि.सं. २०७७ साल चैत्र ३१ गतेको तुलनामा २०७८ साल सोही समय सम्म आइपुग्दा सुनको मूल्य तोलामा १२ हजार रुपैयाँले बढेको हो ।

वि.सं. २०७७ साल चैत्र ३१ गते छापावाल सुनको मूल्य ८९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य ८९ हजार रुपैयाँ थियो । जुन मूल्य आज कायम भएको मूल्यको तुलनामा १२ हजार रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज अर्थात बुधबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १ हजार रुपैयाँमा कायम गरिएको छ ।

विहीबार, ०१ बैशाख २०७९, १९ : ४९

प्रतिक्रिया