अर्थतन्त्र सुधारोन्मुख भए पनि ट्रयाकमा आइसकेको छैनः प्रधानमन्त्री दाहाल

सोमबार, २७ चैत्र २०७९, १६ : ५८

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा केही सुधारका सङ्केतहरू देखिएको दावी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको बाह्य क्षेत्र सकारात्मक, राजश्व सङ्कलनमा वृद्धि, पुँजीगत खर्चमा सुधार देखिएको बताए । अर्थतन्त्रमा केही सुधार देखिए पनि ट्रयाकमा भने आइनसकेको दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भने, “कम्तिमा १० महिनालाई पुग्नेगरी विदेशी विनिमय सञ्चिती रहेको छ ।  पछिल्लो समय उल्लेख्य रूपमा राजश्व सङ्कलन हुन थालेको छ । बैङ्क वित्तीय संस्थामा ब्याजदर उच्च हुँदा केही समस्या देखिएको छ । यसको समाधानका लागि पनि पहल भइरहेको छ ।”  

अर्थतन्त्रका वर्तमान जटिलतालाई हटाउन सरकार प्रयासरत रहेको समेत प्रधानमन्त्री दाहालले बताए । उनले आगामी बजेटमा केही नयाँ र गुणात्मक प्रकृतिका परियोजनालाई अगाडी बनाइने जानकारी समेत दिए । 

चेम्बरको उद्घाटन सत्रमा प्रधानमन्त्री दाहालले भने, “सरकार आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ । परम्परागत प्रकृतिको नीति कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ । सरकारले यो पटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ विगतभन्दा केही गुणात्मक नीति कार्यक्रम र योजनाहरू अगाडि बढाउने गृहकार्य गरिरहेको छ । जसबाट मुलुकको विकास र समृद्धिमा गुणात्मक योगदान दिन सकियोस् ।” 

बैङ्क वित्तीय संस्थामा उच्च ब्याजदरले पारेको असर न्यूनीकरणका लागि पनि पहल भइरहेको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले भने, “पछिल्लो समय उच्च ब्यादजरले समग्र उद्यमी व्यवसायी एवम् ऋणहरूमा परेको असरबारे मैले राष्ट्र बैङ्कका गर्भनर लगायत निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि छलफल गरिरहेको छु केही दिनमा सकारात्मक सङ्केत देखिनेछ ।”

मुलुकको उद्योग व्यापारको विकास र विस्तारमा निजी क्षेत्रको योगदान बढाउन महत्त्वपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री दाहालले चेम्बर अफ कमर्सलाई समेत धन्यवाद दिए । उनले निजी क्षेत्रको सहयोगबिना सरकार अगाडि बढ्न नसक्ने समेत बताए । 

चेम्बरको ७२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गती लिन नसकेको बताए । 

अध्यक्ष मल्लले भने, “राजश्व सङ्कलन हालसम्म केवल ४५ प्रतिशतमा सिमित रहेको छ । राजश्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था सिर्जना हुनु मुलुकका लागि सुखद सङ्केत हैन । आर्थिक गतिविधि विस्तार गरी राजश्व लक्ष्य बृद्धि गर्नु आजको आवश्यकता हो ।”

सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनका लागि बिल लिने दिने व्यवस्थालाई प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । 

करमा नागरिकको सहभागिता बृद्धिका लागि नागरिकतासँगै प्यान कार्ड दिने व्यवस्था गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । आयात र निर्यातबिचको खाडल उच्च हुँदा व्यापार घाटा बढिरहेको अध्यक्ष मल्लले बताए । 

उत्पादन वृद्धि, लगानीमैत्री वातावरण एवम् व्यवसायिक गतिविधीलाई बढाएर अर्थतन्त्रलाई अगाडी बढाउनुपर्ने अध्यक्ष मल्लले जोड दिए ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि लगानीमैत्री वातावारण, कृषि, जलस्रोत, पर्यटन, सूचना प्रविधि, पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने अध्यक्ष मल्लले बताए ।

यसका लागि ठोस योजना र सुशासन एवम् पार्दर्शिताको आवश्यकता रहेको उनको भनाइ छ । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवम् ऋणीहरूमा निकै असर गरेको भन्दै अध्यक्ष मल्लले ब्याजदरलाई छिटोभन्दा छिटो एकल अङ्कमा सीमित गरिनु पर्नेमा जोड दिए । 

सोमबार, २७ चैत्र २०७९, १६ : ५८

प्रतिक्रिया