काठमाडौँ- कीर्तिपुर बाहिरीगाउँमा रहेको पुष्पसदन आवासीय माध्यमिक विद्यालयले कानुनको धजिया उडाएकाे छ।
अन्तिम परीक्षाको नतिजा र नयाँ शैक्षिक सत्रबारे सूचना जारी गरेको विद्यालयले कानुनलाई नै चुनौती दिने काम गरेको पाइएको हो । विद्यालयले विभिन्न १० वटा बुँदा अभिभावकहरूका लागि जारी गर्दै कानुनलाई नै चुनौती दिने खालको बुदा समेत समेटेकाे छ ।
नयाँ सत्रका लागि विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक न्यू स्टुडेन्ट स्पोर्स पुस्तक पसलबाट वितरण हुने हुँदा आफ्नो सुविधाअनुसार अभिभावकले पुस्तक खरिद गर्न भनेको छ । त्यसका लागि पसलका सञ्चालक राजु लामाको सम्पर्क नम्बर समेत राखिएको छ ।
त्याती मात्रै नभइ विद्यालयले जारी गरेको बुँदा नम्बर १० मा नर्सरीदेखि कक्षा ४ सम्मका छात्राहरूका लागि नयाँ विद्यालय पोसाक किन्न चाहनुभएमा पुरानो फ्रक वा पाइन्टको सट्टामा ट्युनिक किनिदिन अनुरोध गरिएको छ । विद्यार्थी पोसाक पनि सोही पुस्तक पसलबाट किन्न भनेको छ ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार त्यसरी किताब तथा ड्रेस तोकिएको पसलबाट किन्नु भन्न मिल्दैन । तर, विद्यालयले भने यसलाई नै चुनौती दिनेगरी सार्वजनिक रूपमा नै अभिभावकहरूलाई तोकिएकै पसलबाट किताब र ड्रेस किन्न भनेको हो ।
विद्यालयका प्रधानाध्यापक राम धन (आरडी) राईले विद्यार्थी तथा अभिवाकहरूको सहजताका लागि सूचना जारी गरिएको बताएका छन् । साथै आजको अर्थसँग कुरा गर्दै प्रधानाध्यापक राईले कुनै पनि अभिभावकलाई अनिवार्य नगरिएको बताए ।
‘हामीले अनिवार्य त्यही पसलबाट किन्नुपर्छ भनेका छैनौं । अभिभावकहरूको सहजताका लागि अनुरोध गरेका हौं ।अभिभावकहरूले अरू ठाउँबाट पनि किन्न सक्नुहुन्छ,’ उनले भने ।
उनले शुल्कको विषयमा अहिले कुनै पनि निर्णय नगरिएको बताएका छन् । ‘शुल्क बढाउने विषयमा अहिले केही पनि निर्णय भएको छैन । त्यसका लागि नगरपालिकाबाट अनुगमन भएर निर्णय भएपछि मात्र गर्छौ । शुल्क वृद्धिका लागि अनुरोध चाही गरेका हौं,’ उनले भने ।
तर कीर्तिपुर नगरपालिकाले भने यो विषयमा अहिलेसम्म कुनै जानकारी नभएको जनाएको छ ।
-निशा ढकाल
प्रतिक्रिया