काठमाडौं – रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद बनेका ढाकाकुमार श्रेष्ठको दुई करोड काण्डले पार्टीमा ठूलो खैलाबैला भएको छ । वैकल्पिक राजनीतिको मुद्धा उठाएर राष्ट्रिय राजनीतिमा उदाएको सो पार्टीको असली रुप सतहमा आउन थालेको छ । उता निष्कासित ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गरेका छन् ।
उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् ।
आजको अर्थसँग फोनमा कुरा गर्दै श्रेष्ठले भने –
‘तुरुन्तै धेरै प्रतिक्रिया दिने पक्षमा म छैन । तर अडियो सुनेर कारबाही गर्ने साथीहरुले त्यही अडियोमा उठेको कुराको सम्बोधन चाहिं गर्नुपर्छ कि पर्दैन ? त्यहाँ कोर टिमको कुरा उठेको छ । त्यसको खोजी गर्न सक्छन् उनीहरु ? जे कुराको पनि प्रक्रिया हुन्छ । मलाई निलम्बित गरेको, अनि तुरुन्तै सदस्यता नै नरहने घोषणा गरेको सुनियो । अस्ति रवि लामिछानेजीको नागरिकतासमेत नरहँदा तत्काल पार्टी सभापति नरहे पनि भोलिपल्टै सभापति बनाएको होइन र ? उहाँले नागरिकता पाए पनि अदालतमा मुद्दा त छँदै थियो । यस्तो बेलामा पनि हामीले उहाँलाई सभापति मानेकै हो । अहिले मसँग अर्कै व्यवहार गरियो । यस्तो नि कहीं पार्टी हुन्छ ? कुराहरु धेरै छन् । अहिले धेरै नखोलौं । मैले अब ठन्डा दिमागले सोचेर आफ्नो कदम चाल्छु ।’
ढाकालाई दुई करोड दिने बचन दिएका दुर्गा प्रसाईले रास्वपाका अरुले पनि आफूसँग पैंसा मागेको रेकर्ड सुरक्षित रहेको बताएका छन् । समय आएपछि सार्वजनिक गर्ने पनि प्रसाईले बताएका छन् ।
प्रतिक्रिया