महालक्ष्मी विकास बैंकको मुनाफामा गिरावट

आइतबार, ०७ माघ २०८०, ०८ : ०८

काठमाडौँ- महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २७ करोड ८० लाख खूद नाफा आर्जन गरेको छ ।  

अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ करोडले कम हो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४५ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यो वर्ष घटेर ३९ करोड ५७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 


समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जको रुपमा ९ करोड ३६ लाख बढी रकम प्रभिजन गरेको छ ।  
 बैंकको व्यवसाय बिस्तार समेत सुस्ताएको देखिन्छ । यहीकारण अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ४ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर ८९ करोड २४ लाखमा सीमित बन्न पुगेको देखिन्छ । ब्याज आम्दानी गत वर्षभन्दा केही बढे पनि खर्च समेत त्योभन्दा धेरैले बढ्दा खूद ब्याज आम्दानीमा प्रभाव परेको देखिएको हो ।  

समीक्षा अवधिमा महालक्ष्मी विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३।३३ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिको  इपीएस १५.७६ रुपैयाँ रहेको थियो । अप्ठ्यारो अवस्थामा समेत बैंकले खराब कर्जालाई भने घटाउने सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४.५७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष ४.२१ प्रतिशतमा सीमित बन्न पुगेको हो ।  

समीक्षा अवधिसम्म बैंकले ५३ अर्ब ४ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ५० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५१ अर्ब ४९ करोड बढी निक्षेप संकलन गरी ३७ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको थियो ।  बैंकको मूल्य आम्दानी अनुपात २५.५८ गुणा, प्रतिसेयर नेटवर्थ १५४.०४ रुपैयाँ, कुल सम्पत्तिमा प्रतिफल (वार्षिकीकृत) ०.८७ प्रतिशत रहेको छ ।  

आइतबार, ०७ माघ २०८०, ०८ : ०८

प्रतिक्रिया