काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले फोनपे (Fonepay) द्वारा आयोजित ‘फोनपे अनर्स’ (Fonepay Honors) कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ । बैंकले विकास बैंक समूहअन्तर्गत डिजिटल भुक्तानीका विभिन्न तीन विधामा अवार्ड जितेको हो ।
बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युयर)’, ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युयर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ ।
फोनपे डाइरेक्ट भोल्युमअन्तर्गत बैंकको मोबाइल एपमार्फत सबैभन्दा धेरै संख्यामा रकम स्थानान्तरण गरेको तथा क्यूआर भोल्युम (इस्युयर) अन्तर्गत मोबाइल एपमार्फत क्यूआरबाट सबैभन्दा धेरै भुक्तानी भएको आधारमा बैंक सम्मानित भएको हो । त्यसैगरी, क्यूआर भोल्युम (एक्वायरर) विधामा क्यूआर मर्चेन्टमार्फत सबैभन्दा धेरै कारोबार प्राप्त गरेको आधारमा बैंकले अवार्ड पाएको हो ।
डिजिटल भुक्तानी सेवाको प्रवर्द्धन तथा विस्तारमा बैंकले पुर्याएको योगदानको कदरस्वरूप प्राप्त यी अवार्डले डिजिटल बैंकिङ सेवाप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ ।
यस उपलब्धिले आगामी दिनमा अझ सहज, सुरक्षित र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्न थप प्रेरणा मिल्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले यस उपलब्धिमा साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहक, साझेदार संस्था तथा कर्मचारीप्रति आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया