नेपालमा हुण्डी कारोबारमा युवा र विप्रेषणका सबएजेण्टको संलग्नता धेरै: राष्ट्र बैंक

शनिबार, १२ मंसिर २०८३, १२ : ३४

काठमाडौं- नेपालमा हुण्डी कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका युवा तथा खुद्रा व्यापार गर्ने र विप्रेषण कारोबारमा संलग्न सबएजेण्टहरू बढी संलग्न रहेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकअन्तर्गत वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको ‘Strategic Analysis Report, 2026: Hundi’ विषयक रणनीतिक विश्लेषण प्रतिवेदनले यस्तो तथ्य उजागर गरेको हो ।

वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको उक्त प्रतिवेदन कुनै निश्चित मुद्दा, संस्था वा व्यक्तिमा केन्द्रित नभई नेपालमा हुने हुण्डी कारोबारको प्रवृत्ति, प्रकार तथा विधिको पहिचान र विश्लेषणमा केन्द्रित रहेको जनाएको छ ।

प्रतिवेदनको मुख्य उद्देश्य हुण्डी कारोबारका प्रवृत्ति तथा विधिको विश्लेषण गर्नु, यसमार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानीको जोखिमबारे बुझाइ अभिवृद्धि गर्नु, जोखिम सूचकहरू अद्यावधिक गर्नु तथा हुण्डी नियन्त्रणका लागि सम्बन्धित निकायलाई आवश्यक सुझाव दिनु रहेको छ ।

प्रतिवेदनअनुसार विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले हुण्डी कारोबारमार्फत मानव तथा लागुऔषध तस्करी, भ्रष्टाचार र करछलीजस्ता आपराधिक गतिविधिबाट आर्जित सम्पत्ति शुद्धीकरण हुने तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी हुन सक्ने जोखिम देखाएका छन् ।

यसअघि हुण्डी कारोबारको भुक्तानी तथा फर्छ्योट मुख्यतः द्विपक्षीय अफसेटिङ र सेटलमेन्ट थ्रु भ्यालुजस्ता विधिबाट हुने गरेकोमा पछिल्लो समय औपचारिक बैंकिङ प्रणालीमा आधारित च्यानल तथा डिजिटल बैंकिङ प्रणालीको प्रयोगसमेत बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

वित्तीय जानकारी इकाईको गोएमएल (goAML) प्रणालीमा सन् २०२५ जनवरी २ देखि २०२६ जुलाईसम्म प्राप्त हुण्डीसम्बन्धी शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन (STRs/SARs) लाई विस्तृत विश्लेषण गरी प्रतिवेदन तयार गरिएको हो ।

प्रतिवेदनले नेपालमा हुण्डी कारोबारका लागि विभिन्न विधि प्रयोग हुने गरेको औँल्याएको छ । जसमा म्युल अकाउन्टको प्रयोग, नगद कारोबारको सीमा छल्न रकम टुक्र्याएर जम्मा गर्ने, कानुनी व्यक्तिको प्रयोग, क्रिप्टोकरेन्सीमार्फत कारोबार, नगद ओसारपसार गरी भुक्तानी गर्ने, विप्रेषण कारोबार गर्ने सबएजेण्टको प्रयोग तथा डिजिटल प्रविधिको प्रयोगलगायत रहेका छन् ।

हुण्डी कारोबार नियन्त्रणका लागि प्रतिवेदनले वित्तीय कारोबारको निगरानी र नियमनमा संलग्न विभिन्न निकायलाई लक्षित गरी सुझावसमेत प्रस्तुत गरेको छ ।

सूचक संस्था, नियामक तथा सुपरिवेक्षक, कानुन कार्यान्वयन गर्ने निकाय र नीति निर्माण तथा समन्वय गर्ने निकायलाई लक्षित सुझावमा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको गुणस्तर सुधार, जोखिममा आधारित निगरानी प्रणाली सुदृढीकरण, अन्तरनिकाय समन्वय, प्राविधिक क्षमता अभिवृद्धि तथा जनचेतना विस्तारलाई प्राथमिकता दिइएको छ ।

वित्तीय जानकारी इकाईका अनुसार प्रतिवेदनले हुण्डी कारोबारको बदलिँदो स्वरूप र यससँग जोडिएका वित्तीय अपराधका जोखिम पहिचान गर्न तथा नियन्त्रणका लागि सम्बन्धित निकायलाई प्रभावकारी रणनीति निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

शनिबार, १२ मंसिर २०८३, १२ : ३४

प्रतिक्रिया