भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउन नेपालगञ्जमा छैटौँ वाकाथन हुँदै

शनिबार, १२ मंसिर २०८३, १२ : २६

काठमाडौं- भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा डिसेम्बर ९ अर्थात् मंसिर २३ गते आयोजना हुने छैटौँ नेपालगञ्ज वाकाथनको तयारी तीव्र पारिएको छ ।

भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्देश्यले आयोजना हुँदै आएको वाकाथनलाई भव्य र व्यवस्थित बनाउन आयोजक संस्था बास नेपाल र व्यवस्थापन संस्था अन्तरालले तयारीलाई तीव्रता दिएका हुन् ।

विभिन्न संघसंस्था तथा निकायहरूको सहकार्यमा सञ्चालन हुने कार्यक्रमको तयारीका लागि बसेको बैठकले मूल समिति तथा विभिन्न उपसमितिहरू गठन गरेको छ ।

‘भ्रष्टाचारविरुद्धका लागि सँगै हिँडौँ’ भन्ने नाराका साथ आयोजना हुने वाकाथनको मूल समिति संयोजकको जिम्मेवारी बास नेपालका पूर्व केन्द्रीय अध्यक्ष रमेश सिटौलालाई दिइएको छ ।

त्यसैगरी आर्थिक समिति संयोजकमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, प्रचारप्रसार समितिमा हेमराज भट्ट, पदयात्रा व्यवस्थापनमा माधवकुमार कार्की, झाँकी व्यवस्थापनमा रविन्द्र बोहरा, संघसंस्था समन्वयमा मनबहादुर भण्डारी र सचिवालय संयोजकमा मीना घर्ती मगरलाई जिम्मेवारी दिइएको छ ।

यसैगरी मञ्च तथा स्थल व्यवस्थापनमा शोभा थापामगर, सुरक्षा व्यवस्थापनमा कमलबहादुर शाही, स्वयंसेवक परिचालनमा सुमिता कुमाल, ट्राइसाइकल व्यवस्थापनमा टेकराज जैसी, स्वास्थ्य तथा प्राथमिक उपचार स्टल व्यवस्थापनमा बसन्ती रोकाया र शैक्षिक क्षेत्र समन्वयमा शोभा भण्डारीलाई जिम्मेवारी तोकिएको छ ।

जिम्मेवारी बाँडफाँटसँगै सबै समिति संयोजकले आ–आफ्नो समिति पूर्ण गरी तयारीलाई अगाडि बढाउने निर्णय गरिएको छ ।

वाकाथनमा नेपाल प्रहरीको ब्यान्ड बाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन तथा भ्रष्टाचारविरुद्धका सन्देशमूलक पर्चा र पम्प्लेट वितरणलगायतका गतिविधि समावेश गरिने आयोजकले जनाएको छ । सहभागीहरू नेपालको राष्ट्रिय झण्डा र भ्रष्टाचारविरुद्धका सन्देश अंकित प्लेकार्डसहित भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जनाउँदै सडकमा उत्रिनेछन् ।

आयोजकले भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन सरोकारवाला निकाय, संघसंस्था तथा आम नागरिकलाई स्वतःस्फूर्त रूपमा सहभागी हुन आह्वान गरेको छ ।

मंसिर २३ गते बिहान ७ बजे नेपालगञ्जको गणेशमान चोकबाट सुरु हुने वाकाथन बीपी चोक, त्रिभुवन चोक र सदरलाइन हुँदै रामलीला मैदानमा पुगेर समापन हुनेछ ।

सन् २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघको महासभाबाट भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो । सोही दिनको स्मरणमा हरेक वर्ष डिसेम्बर ९ लाई अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्ध दिवसका रूपमा मनाइँदै आएको छ ।

बास नेपालले पश्चिम नेपालमा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् २०७८ देखि नियमित रूपमा नेपालगञ्जमा वाकाथन आयोजना गर्दै आएको छ ।

शनिबार, १२ मंसिर २०८३, १२ : २६

प्रतिक्रिया