एनटी फाइबरको बढ्दो माग व्यवस्थापन गर्न नेपाल टेलिकमले थाल्यो तयारी

शनिबार, १२ मंसिर २०८३, १० : ५२

काठमाडौं- नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवाको माग बढेसँगै जडान तथा आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी अघि बढाएको छ।

टेलिकमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सेवाग्राहीको बढ्दो मागलाई सम्बोधन गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी भइरहेको जनाएको छ।

उच्च गतिको इन्टरनेट तथा टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने एनटी फाइबरप्रति सेवाग्राहीको आकर्षण निरन्तर बढिरहेको कम्पनीले जनाएको छ।

टेलिकमका कतिपय कार्यालयमा एनटी फाइबर जडानको माग अत्यधिक बढेको छ। मागको चापलाई ध्यानमा राख्दै आवश्यक व्यवस्थापकीय सुदृढीकरणको काम प्राथमिकताका साथ भइरहेको कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले जनाएका छन्।

कम्पनीले सेवाग्राहीको बढ्दो माग सम्बोधन गर्न आपूर्ति शृंखला अवरुद्ध हुन नदिने गरी काम भइरहेको जनाएको छ।

सरकारी स्वामित्वको कम्पनी भएकाले आपूर्ति शृंखला व्यवस्थापनमा विधिवत् प्रक्रिया अवलम्बन गर्दै निरन्तर सेवा प्रवाहका लागि आवश्यक काम भइरहेको टेलिकमको भनाइ छ।

कम्पनीले प्राप्त मागअनुसार क्रमशः एनटी फाइबर जडान गर्दै जाने तथा सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

शनिबार, १२ मंसिर २०८३, १० : ५२

प्रतिक्रिया