काठमाडौं- सेयर बजारमा मार्जिन कारोबार गर्ने लगानीकर्ताका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ व्यवस्था लागू गर्ने भएको छ ।
नेप्सेले आगामी सातादेखि मार्जिन कारोबारअन्तर्गत भएका सेयर खरिदबिक्रीको एकीकृत विवरण दैनिक रूपमा सार्वजनिक गर्न लागेको हो ।
यस व्यवस्थापछि लगानीकर्ताले कुन कम्पनीको सेयरमा कति मार्जिन कारोबार भइरहेको छ भन्ने जानकारी नेप्सेको आधिकारिक वेबसाइटबाटै प्राप्त गर्न सक्नेछन् ।
नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा उपलब्ध गराउँदै आएका ब्रोकर कम्पनीले प्रत्येक कारोबार दिनको विवरण अर्को कारोबार दिनको मध्याह्न १२ बजेसम्म नेप्सेमा बुझाउनुपर्नेछ । त्यसरी प्राप्त विवरणलाई नेप्सेले एकीकृत गरी अर्को कारोबार दिनभित्रै वेबसाइटमार्फत सार्वजनिक गर्नेछ ।
मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रियाको परिच्छेद–८ को दफा २१ मा रहेको सूचनासम्प्रेषणसम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा ल्याउन यस्तो व्यवस्था गरिएको नेप्सेले जनाएको छ । यसअघि मार्जिन कारोबारको एकीकृत विवरण नियमित रूपमा सार्वजनिक नहुँदा बजारमा कुन कम्पनीको सेयरमा कति ऋण लिएर कारोबार भइरहेको छ भन्ने जानकारी पाउन सहज थिएन।
मार्जिन कारोबारको विवरण नियमित रूपमा सार्वजनिक हुँदा दोस्रो बजारमा सूचनाको पारदर्शिता बढ्छ ।
प्रतिक्रिया