काठमाडौं- इनम सापकोटा पक्राउ परेपछि दिनानुदिन सार्वजनिक भएका घटनाक्रमले अहिले मुलुकको राजनीतिक, प्रशासनिक र सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेका छन्। इनमकाे पक्राउ सुरुमा एउटा व्यक्तिको शङ्कास्पद आर्थिक कारोबार, राजनीतिक तथा न्यायिक क्षेत्रका उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्क र सम्भावित बिचौलियाको भूमिकाको अनुसन्धानका रूपमा देखिएको यो प्रकरण अहिले सरकारको विश्वसनीयता र राज्य सञ्चालनको तरिकासँग समेत जोडिन पुगेको छ।
इनमको गिरफ्तारीपछि सुरुमा उनको मोबाइलबाट प्राप्त भएको भनिएका विभिन्न सूचना, अडियो, भिडियो र संवादका विवरणहरू सञ्चारमाध्यममा सार्वजनिक हुन थाले। पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सर्वोच्च अदालतका न्यायाधीशहरू, राजनीतिक दलका नेता, व्यवसायी तथा प्रहरी अधिकारीहरूसँगको सम्पर्क र संवादका विवरणले न्यायालयदेखि राजनीतिक वृत्तसम्म तरङ्ग पैदा गर्यो। नेपाली कांग्रेसको आधिकारिकता विवादमा १८ करोड रुपैयाँको लेनदेनदेखि न्यायिक सेटिङसम्मका विषय सार्वजनिक भए। यी विवरणको सत्यता स्वतन्त्र अनुसन्धानबाट पुष्टि हुन बाँकी नै छ। तर यस्ता संवेदनशील संवाद सार्वजनिक हुनु आफैँमा सामान्य विषय थिएन।
अझ आश्चर्यजनक पक्ष त इनम पक्राउ परेपछि बरामद गरिएको भनिएको उनको मोबाइलको यात्राले देखायो। अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको मोबाइल सिधै डिजिटल फरेन्सिक परीक्षणमा जानुपर्ने हो। तर सञ्चारमाध्यममा आएको विवरणअनुसार उक्त मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निवासमा दुई दिनसम्म पुगेको थियो। समाचार माध्यमले ले सार्वजनिक गरेको फरेन्सिक परीक्षणसम्बन्धी विवरणमा मोबाइलको लोकेसन ललितपुरको ज्वागलस्थित बेनको निवास नजिक देखिएको कुरा सार्वजनिक भयो । त्यस अवधिमा मोबाइलबाट सामाजिक सञ्जाल चलाइएको, सामग्रीका स्क्रिन सट लिइएको र केही सन्देश मेटिएको विवरणसमेत सार्वजनिक भए।
यहाँ नीर एउटा प्रश्न स्वाभाविक छ कि प्रहरीको नियन्त्रणमा रहेको अभियुक्तको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको घरमा कसरी पुग्यो ? कसको आदेशमा पुग्यो ? त्यसमा भएका सूचना कसले हेर्यो ? कसले स्क्रिन सट लियो ? कसले सन्देश मेटायो ? र मोबाइल पुनः प्रहरीको नियन्त्रणमा कसरी फर्कियो ? यदि यो सबै कुरा सत्य हो भने
यो सामान्य प्राविधिक त्रुटि होइन। अनुसन्धानको सबैभन्दा महत्त्वपूर्ण डिजिटल प्रमाण नै अनुसन्धान गर्ने निकायको औपचारिक नियन्त्रण बाहिर पुगेको हो भने त्यसबाट प्राप्त प्रमाणको विश्वसनीयतामाथि प्रश्न उठ्नु स्वाभाविक हो। प्रमाण सुरक्षित राख्ने जिम्मेवारी बोकेको राज्य संयन्त्रमाथि नै प्रश्न उठेपछि अनुसन्धानको निष्पक्षता कसरी विश्वास गर्ने ?
यता मंसिर १२ गते आज सार्वजनिक भएको अर्को समाचारले त यो प्रकरणलाई झन् रहस्यमय बनाएको छ।
इनम सापकोटाले आफ्नी श्रीमती कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा आफूलाई पक्राउ गरेपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको, मानसिक यातना दिइएको र उच्चपदस्थ व्यक्तिहरूविरुद्ध बयान दिन धम्की दिइएको दाबी गरेका छन्। पूर्व प्रधानन्यायाधीश, उनका परिवारका सदस्य, कांग्रेस सभापति , अन्य नेता तथा व्यवसायीहरू र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिए रिहा गरिदिने आश्वासन दिइएको उनको निवेदनमा उल्लेख छ।
अझ गम्भीर कुरा, आफूले नबोलेका र जानकारी नै नभएका विषयमा प्रहरीले तयार पारेको सामग्री पढ्न लगाएर त्यसलाई बयानका रूपमा रेकर्ड गरिएको उनको दाबी छ। सार्वजनिक भएका अडियो र भिडियोका केही अंश पनि आफूले दबाबमा पढेको सामग्री भएको उनले बताएका छन्। मोबाइलमा एआईबाट सिर्जित कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत हुन थालेको भन्ने जानकारी आफूले आफन्त र कानुन व्यवसायीबाट पाएको उनको दाबी छ।
यी आरोप सत्य हुन् वा अनुसन्धानबाट बच्न गरिएको प्रतिरक्षा, यसको निष्पक्ष छानबिन हुनुपर्छ। तर हिरासतमा रहेको व्यक्तिले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष जीवन रक्षा, निष्पक्ष अनुसन्धान र जिम्मेवार व्यक्तिमाथि कारबाहीको माग गर्दै निवेदन दिनुपर्ने अवस्था आफैँमा गम्भीर हो। आयोगले पनि यश विषयमा अनुसन्धान गर्नै पर्दछ ।
अब प्रश्न इनम दोषी हुन् कि निर्दोष भन्ने मात्र रहेन। उनी दोषी भए कानुनअनुसार कारबाही हुनुपर्छ। तर उनलाई दोषी प्रमाणित गर्न राज्यले गैरकानुनी बाटो अपनाउन पाउँदैन। कुनै व्यक्तिको बयान जबरजस्ती गराइएको हो भने त्यसबाट अरूलाई फसाउने वा राजनीतिक हिसाब मिलाउने अधिकार कसैलाई छैन।
अर्कोतर्फ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको भूमिकामाथि उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्छ। प्रधानमन्त्रीका सचिवालयका व्यक्तिहरू प्रहरी कार्यालयमा पुगेर अनुसन्धानमा चासो राखेको, मोबाइलको नियन्त्रणमा अस्वाभाविक भूमिका देखिएको र त्यसबारे प्रश्न उठ्दा पनि सरकारको स्पष्ट जवाफ नआएको समाचार सार्वजनिक भइरहेका छन्।
सरकारको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहले गरिरहेका छन्। तर सरकारका महत्त्वपूर्ण निर्णय, प्रहरी अनुसन्धान र राज्यका निकायहरूको सञ्चालनमा वास्तविक नियन्त्रण कसको छ भन्ने प्रश्न उठ्नु सामान्य अवस्था होइन। प्रधानमन्त्रीको नाम लिएर कसैले शक्ति प्रयोग गर्छ भने प्रधानमन्त्रीले त्यसको जबाफदेहिता लिनुपर्छ। सल्लाहकारहरू राज्यभन्दा माथि हुँदैनन्। प्रधानमन्त्रीको सचिवालय निजी शक्ति केन्द्र पनि होइन।
आज जनताले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र विधिको शासनको अपेक्षा गरेका छन्। पुराना राजनीतिक दल र सरकारहरूको आलोचना गर्दै नयाँपनको वाचा गरेर आएको नेतृत्वले पनि पुरानै शैलीमा राज्यका निकायलाई प्रभावमा पार्ने हो भने परिवर्तनको अर्थ के रहन्छ ?
यो प्रकरणमा तीन वटा निष्पक्ष अनुसन्धान आवश्यक छन्। पहिलो, इनम सापकोटाको आर्थिक कारोबार, सम्पर्क सञ्जाल र कथित न्यायिक तथा राजनीतिक सेटिङको अनुसन्धान। दोस्रो, बरामद मोबाइल प्रहरीको नियन्त्रणबाट बाहिर कसरी गयो, कसले प्रयोग गर्यो र त्यसमा भएका सामग्रीमा के परिवर्तन भयो भन्ने विषयको डिजिटल फरेन्सिकसहितको छानबिन। तेस्रो, हिरासतमा जबरजस्ती बयान गराइएको, यातना दिइएको र प्रमाण सिर्जना गरिएको भन्ने आरोपको स्वतन्त्र अनुसन्धान।
सरकारले यी प्रश्नको जवाफ दिनुको सट्टा मौनता, व्यङ्ग्य र आरोप–प्रत्यारोपलाई प्राथमिकता दिने हो भने शङ्का झन् गहिरिँदै जानेछ।
प्रश्न फेरि त्यही हो कि सरकार के गर्न खोज्दै छ ? भ्रष्टाचार र बिचौलियाको जालो तोड्न खोज्दै छ कि नयाँ बिचौलियाको शक्ति स्थापित गर्न ? राज्यका निकायलाई स्वतन्त्र बनाउन खोज्दै छ कि शक्तिशाली व्यक्तिको इच्छाअनुसार चलाउन ? र सबैभन्दा महत्त्वपूर्ण प्रश्न त यो देशको सरकार कसले चलाइरहेको छ ? भन्ने हो ।
देश व्यक्तिको इच्छा, सल्लाहकारको पहुँच र गोप्य शक्ति केन्द्रबाट चल्दैन। देश संविधान, कानुन, संस्थागत जिम्मेवारी र जनताको सार्वभौम अधिकारबाट चल्नुपर्छ।
अब सबै भन्दा पहिला इनम सापकोटा प्रकरणको निष्पक्ष छानबिन होस्। दोषी जोसुकै होस्, कारबाही होस्। निर्दोषलाई फसाउने षड्यन्त्र भएको छ भने त्यसमा संलग्न जोसुकै भए पनि उन्मुक्ति नपाओस्। किनकि सरकारको सबैभन्दा ठुलो शक्ति प्रहरी, सत्ता र पद होइन, जनताको विश्वास हो।
प्रतिक्रिया