टिप्पणी

सरकार सुकुमबासी बस्तीमा डोजर चलाउन सफल, आश्रय दिन असफल !

विहीबार, १० मंसिर २०८३, ०९ : ४३

काठमाडौं– राज्यको उपस्थिति नागरिकको जीवनमा सुरक्षा, संरक्षण, न्याय र अवसरका रूपमा अनुभूत हुनुपर्छ। तर नेपालमा पछिल्लो समय सरकारको उपस्थिति गरिब र कमजोर नागरिकका लागि संरक्षणभन्दा विस्थापन र त्रासको माध्यम बनिरहेको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ। काठमाडौंका थापाथली, मनोहरा, सिनामंगल लगायत नदी किनारका बस्तीमा डोजर चलाएर सुकुम्बासी बस्ती हटाइएको सात महिना बितिसक्दा पनि विस्थापित नागरिकले स्थायी बसोबासको व्यवस्था पाउन नसक्नु सरकारको कार्यक्षमतामाथि गम्भीर प्रश्न हो।

अतिक्रमण हटाउनु आफैँमा गलत होइन। सार्वजनिक जग्गा, नदी किनार र सरकारी सम्पत्तिको संरक्षण गर्नु राज्यको दायित्व हो। अव्यवस्थित सहरीकरण नियन्त्रण गर्नु, नदीको बहाव क्षेत्र सुरक्षित राख्नु र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु आवश्यक पनि छ। तर प्रश्न अतिक्रमण हटाउने कि नहटाउने भन्ने होइन।अतिक्रमण हटाउँदा राज्यले त्यहाँ बसोबास गरिरहेका नागरिकको जीवन, आवास र भविष्यप्रति कस्तो जिम्मेवारी निर्वाह गर्‍यो भन्ने हो।

सरकारले बस्ती हटाउने क्रममा प्रभावित परिवारको उचित व्यवस्थापन गर्ने, वैकल्पिक आवासको प्रबन्ध मिलाउने र निश्चित समयभित्र पुनःस्थापना गर्ने आश्वासन दिएको थियो। कतिपय परिवारलाई १४ दिनभित्र व्यवस्थापन गर्ने भनिएको समाचार समेत  आएको थियो । 

तर सात महिना बितिसक्दा पनि उनीहरू अस्थायी होल्डिङ सेन्टरमै आश्रित रहनुपर्ने अवस्था आउनु सामान्य प्रशासनिक कमजोरी मात्र होइन, राज्यको प्रतिबद्धता र व्यवहारबीचको गम्भीर विरोधाभास हो।
अझ विडम्बनापूर्ण अवस्था त के छ भने, स्थायी बसोबासको व्यवस्था गर्न नसकेको सरकारले अस्थायी आश्रयस्थलसमेत छाड्न निर्देशन दिन थालेको छ। समाचारअनुसार बौद्धस्थित  होल्डिङ सेन्टरमा बालबालिकासहित आश्रय लिइरहेका ५९ सुकुम्बासीलाई शुक्रबारभित्र स्थान खाली गर्न भनिएको छ। 

यो चिसो मौसममा उनीहरू अब कहाँ जाने ? बालबालिकालाई कहाँ राख्ने ? वृद्धवृद्धा, महिला, बिरामी र अशक्त नागरिकको जिम्मेवारी कसले लिने ? यी प्रश्नको  जवाफ छ सरकारले दिनु पर्दछ ।

घर भत्काउनु केही घण्टाको काम हो, तर घरविहीन नागरिकलाई सुरक्षित आवास दिनु राज्यको योजना, स्रोत, इच्छाशक्ति र मानवीय संवेदनशीलता माग्ने काम हो। सरकारको कमजोरी यहीँनेर देखिएको छ। डोजर परिचालन गर्न, प्रहरी परिचालन गर्न र बस्ती खाली गराउन देखिएको तत्परता पुनःस्थापनाको काममा किन देखिएन रु नागरिकलाई विस्थापित गर्न सक्ने सरकारले उनीहरूलाई स्थापित गर्न किन सकेन ?

लोकतान्त्रिक शासन व्यवस्थामा राज्यको शक्ति कमजोरमाथि प्रदर्शन गर्ने साधन होइन। राज्यको वास्तविक क्षमता त सबैभन्दा कमजोर नागरिकको अधिकार र जीवन सुरक्षित गर्न सक्ने सामर्थ्यमा देखिन्छ। नदी किनारमा बस्ने सबै मानिस एउटै प्रकृतिका हुँदैनन्। कतिपयले वर्षौंदेखि वास्तविक भूमिहीनताका कारण त्यहाँ आश्रय लिएका हुन सक्छन् भने कतिपयले अवसरको दुरुपयोग गरी सार्वजनिक जग्गा कब्जा गरेका पनि हुन सक्छन्। त्यसैले वास्तविक भूमिहीन, अव्यवस्थित बसोबासी र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूबीच निष्पक्ष पहिचान गर्नु राज्यको पहिलो जिम्मेवारी हो। एउटै मापदण्डबाट सबैलाई व्यवहार गर्नु न्यायोचित हुन सक्दैन।

सरकारले सुकुम्बासी समस्या समाधान गर्ने हो भने तथ्यांक संकलन, परिवारको वास्तविक अवस्था पहिचान, जग्गाको स्वामित्व परीक्षण, रोजगारी र जीविकोपार्जनको अवस्था अध्ययन तथा पुनःस्थापनाको स्पष्ट कार्ययोजना बनाउनुपर्छ। बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा, खानेपानी, शौचालय र सुरक्षित आवासको सुनिश्चितता नगरी मानिसलाई एउटा अस्थायी केन्द्रबाट अर्को अनिश्चिततामा धकेल्नु कुनै पनि दृष्टिले उचित हुन सक्दैन।

अर्कोतर्फ, सुकुम्बासी समस्यालाई राजनीतिक स्वार्थको विषय बनाउने प्रवृत्ति पनि उत्तिकै गलत छ। वर्षौंदेखि सुकुम्बासीका नाममा राजनीति गर्ने दलहरूले सत्तामा पुग्दा समस्या समाधान गर्न नसक्नुको जवाफ दिनुपर्छ। चुनावका बेला नागरिकका झुपडीमा पुगेर मत माग्ने, आश्वासन बाँड्ने तर सत्तामा पुगेपछि तिनै नागरिकको पीडाप्रति उदासीन हुने राजनीतिक संस्कार अन्त्य हुनुपर्छ। तर विगतका सरकारको असफलताको बिरुद्मा स्थापित वर्तमान सरकारलाई आफ्नो जिम्मेवारीबाट उन्मुक्ति हुदैन ।

सरकारले बुझ्नुपर्छ, सार्वजनिक जग्गाको संरक्षण र नागरिकको आवास अधिकार एकअर्काका विरोधी विषय होइनन्। दुवैलाई सन्तुलित र न्यायपूर्ण ढंगले कार्यान्वयन गर्न सकिन्छ। अतिक्रमण हटाउने निर्णय गर्नुअघि नै वैकल्पिक व्यवस्थापनको योजना तयार हुनुपर्थ्यो। विस्थापनपछि सात महिनासम्म पनि समाधान दिन नसक्नुले सरकारी तयारी र व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएको छ।

आज ती होल्डिङ सेन्टरमा रहेका नागरिकलाई आवश्यक परेको कुरा थप निर्देशन, उर्दी र दबाब होइन, सुरक्षित आवास र सम्मानपूर्वक बाँच्न पाउने सुनिश्चितता हो। सरकारले तत्काल होल्डिङ सेन्टरबाट हटाउने निर्णय स्थगित गरी वास्तविक भूमिहीनको पहिचान, वैकल्पिक आवास र पुनःस्थापनाको समयबद्ध योजना सार्वजनिक गर्नुपर्छ।
अन्ततः राज्यको सफलता कति घर भत्कायो, कति बस्ती खाली गरायो र कति डोजर चलायो भन्ने तथ्यांकले मापन हुँदैन। राज्यको सफलता त कति नागरिकलाई सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सम्मानजनक जीवन दिन सक्यो भन्ने आधारमा मापन हुन्छ।

डोजर चलाएर बस्ती खाली गराउनु सरकारको शक्ति प्रदर्शन हुन सक्छ, तर घरबारविहीन नागरिकलाई सुरक्षित छानो दिन सक्नु मात्रै सुशासनको वास्तविक परीक्षा हो।

विहीबार, १० मंसिर २०८३, ०९ : ४३

प्रतिक्रिया