काठमाडौं– प्रधानमन्त्री वालेन्द्र (बालेन) साहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने विषयमा भएको सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको नयाँ आशा जगाएको छ। यससम्बन्धी कार्यविधि टुङ्ग्याउन नेपाल र भारतबीच प्राविधिक परामर्श गर्ने सहमति भएको हो। यसले भैरहवास्थित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढाए पनि पूर्ण हवाई प्रवेश अनुमति प्राप्त भइसकेको भने होइन। त्यसका लागि आवश्यक प्राविधिक प्रक्रिया अझै पूरा गर्न बाँकी छ।
सहमति सकारात्मक भए पनि यसले एउटा गम्भीर प्रश्न उठाएको छ– अर्बौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका राष्ट्रिय गौरवका आयोजना सञ्चालनमा ल्याउन आवश्यक पूर्वतयारी किन समयमै हुन सकेन ?
करिब ४० अर्ब रुपैयाँको ऋण तथा अनुदान परिचालन गरेर निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वर्षौँ बितिसक्दा पनि अपेक्षित क्षमतामा सञ्चालन हुन सकेको छैन। यो सामान्य व्यवस्थापकीय कमजोरी मात्र होइन, मुलुकको योजना निर्माण, सरकारी निर्णय प्रक्रिया, अन्तरनिकाय समन्वय र विकास व्यवस्थापनमाथि उठेको गम्भीर प्रश्न हो।
२०७९ जेठ २ गते औपचारिक उद्घाटन गरिएको विमानस्थलको उद्देश्य धावनमार्ग र टर्मिनल भवन निर्माण गर्नुमा मात्र सीमित थिएन। लुम्बिनीमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने, पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्ने, व्यापारिक गतिविधि विस्तार गर्ने, वैदेशिक रोजगारीमा जाने नागरिकलाई सहज हवाई सेवा उपलब्ध गराउने र काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमाथिको चाप कम गर्ने यसको मुख्य लक्ष्य थियो। यही सम्भावनालाई आधार बनाएर भैरहवा, लुम्बिनी र आसपासका क्षेत्रमा निजी क्षेत्रले पनि होटल, रिसोर्ट तथा पर्यटन पूर्वाधारमा अर्बौँ रुपैयाँ लगानी गरेको छ।
तर विमानस्थल निर्माण सम्पन्न भएपछि अपेक्षित रूपमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेन। भारतबाट आउने र जाने विमानका लागि आवश्यक हवाई मार्गको विषय लामो समयसम्म टुङ्गिएन। फलस्वरूप अर्बौँ रुपैयाँ खर्च गरेर तयार पारिएको पूर्वाधारले अपेक्षित आर्थिक प्रतिफल दिन सकेन।
यहाँ प्रश्न भारतले हवाई मार्ग किन दिएन भन्नेमा मात्र सीमित छैन। भारतसँगको कूटनीतिक सम्बन्ध, हवाई क्षेत्र प्रयोगको अनुमति र अन्तर्राष्ट्रिय उड्डयनका प्राविधिक पक्ष महत्त्वपूर्ण छन्। तर यस्ता विषय आयोजना निर्माण र लगानीको निर्णय गर्नुअघि नै प्राथमिकतामा राखिनुपर्ने थिएन र ? अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय गर्दा त्यसको व्यावसायिक सञ्चालनका लागि आवश्यक हवाई प्रवेश मार्ग, उडान सुरक्षा, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको चासो, यात्रुको सम्भावित संख्या र बजारको सुनिश्चितताबारे पर्याप्त अध्ययन हुनुपर्ने होइन र ?
यी विषयमा समयमै गम्भीर पहल गरिएको भए अहिलेको अवस्था आउनबाट बच्न सकिन्थ्यो। त्यसमाथि आयोजना निर्माणमा भएको ढिलाइ र लागत वृद्धिले पनि प्रश्न उठाएको छ। निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनामा पटकपटक समय थप्नुपर्यो। जग्गा अधिग्रहण, ठेक्का व्यवस्थापन, लागत वृद्धि र प्राविधिक तयारीका विषयमा भएका निर्णयको समीक्षा आवश्यक छ। आयोजनाको सुरुदेखि हालसम्मको समग्र हिसाबकिताब पारदर्शी रूपमा सार्वजनिक हुनुपर्छ।
यस्तो लगानीको अर्को महत्त्वपूर्ण पक्ष ऋणको भार हो। ऋण लिएर बनाइएको आयोजना सञ्चालनमा आउन नसक्दा त्यसको आर्थिक भार सरकारी कागजमा मात्र सीमित रहँदैन। ऋणको साँवा र ब्याज तिर्नुपर्छ, सञ्चालन तथा मर्मतसम्भारमा खर्च हुन्छ। अर्कोतर्फ, त्यही रकमबाट निर्माण गर्न सकिने अस्पताल, विद्यालय, सडक, खानेपानी र रोजगारी सिर्जना गर्ने अन्य आयोजना प्रभावित हुन सक्छन्। राज्यको सीमित स्रोतको कमजोर उपयोगको भार अन्ततः नागरिक र भावी पुस्ताले समेत बोक्नुपर्ने हुन्छ।
यसको असर विमानस्थलमा मात्र सीमित छैन। भैरहवा र लुम्बिनी क्षेत्रमा विमानस्थल सञ्चालन हुने अपेक्षामा होटल, पर्यटन, यातायात, रेस्टुरेन्ट र अन्य व्यवसायमा निजी क्षेत्रले ठूलो लगानी गरेको छ। नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा उनीहरूको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन सकेको छैन। रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र लुम्बिनीमा विदेशी पर्यटकको आगमन बढाउने सम्भावनासमेत प्रभावित भएको छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा भएको पछिल्लो सहमतिले अब यो अवस्था बदलिने आशा जगाएको छ। तर सहमति हुनु र त्यसको प्रभावकारी कार्यान्वयन हुनु फरक कुरा हुन्। प्राविधिक परामर्श, आवश्यक कार्यविधि, हवाई सुरक्षा र सञ्चालनसम्बन्धी बाँकी प्रक्रिया शीघ्र पूरा गर्नुपर्छ।
त्यससँगै विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडानको केन्द्र बनाउन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग व्यावसायिक समन्वय, पर्यटन प्रवर्द्धन र आवश्यक पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्छ। अबको काम विमानस्थल सञ्चालनमा ल्याउनु मात्र होइन, विगतका कमजोरीको समीक्षा गर्नु पनि हो। आयोजना निर्माणमा संलग्न राजनीतिक नेतृत्व, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, योजना निर्माण गर्ने निकाय र निर्णय प्रक्रियामा जिम्मेवार अधिकारीहरूको भूमिकाको निष्पक्ष मूल्यांकन हुनुपर्छ। कसले के निर्णय गर्यो, कुन विषयमा कमजोरी भयो, आवश्यक पूर्वतयारी किन भएन र त्यसबाट राज्यले कति आर्थिक भार व्यहोर्नुपर्यो भन्ने तथ्य सार्वजनिक गरिनुपर्छ।
विकास भनेको अर्बौँ रुपैयाँ खर्च गरेर भौतिक संरचना खडा गर्नु मात्र होइन। लगानीअनुसार प्रतिफल प्राप्त गर्नु, रोजगारी सिर्जना गर्नु, नागरिकको जीवनस्तर उकास्नु र राज्यको अर्थतन्त्रलाई बलियो बनाउनु विकासको वास्तविक उद्देश्य हो। प्रयोगमा आउन नसक्ने पूर्वाधार निर्माण गरेर उद्घाटन र शिलान्यासको संख्या बढाउनु विकासको सूचक हुन सक्दैन।
हामीकहाँ समस्या बजेटको अभाव मात्र होइन, उपलब्ध स्रोतको सदुपयोग गर्न नसक्ने प्रवृत्ति पनि हो। अध्ययनभन्दा राजनीतिक दबाब, आवश्यकताभन्दा प्रचारमुखी प्रतिस्पर्धा र दीर्घकालीन योजनाभन्दा तत्कालीन लोकप्रियतालाई प्राथमिकता दिने संस्कारले विकास आयोजनालाई आर्थिक बोझ बनाइरहेको छ।
अब सरकारले विगतका कमजोरीबाट पाठ सिक्नुपर्छ। कुनै पनि ठूलो आयोजना सुरु गर्नुअघि सम्भाव्यता अध्ययन, बजारको सुनिश्चितता, आवश्यक अन्तर्राष्ट्रिय अनुमति, प्राविधिक तयारी, आर्थिक प्रतिफल र जोखिमको विस्तृत मूल्यांकन अनिवार्य गर्नुपर्छ। आयोजना निर्माणको जिम्मेवारी लिने निकाय र निर्णय गर्ने पदाधिकारीलाई परिणामप्रति जवाफदेही बनाउनुपर्छ।
राज्यकोष जनताको पसिनाबाट जम्मा भएको सम्पत्ति हो, कुनै दल वा नेताको निजी सम्पत्ति होइन। ऋण लिएर विकासका नाममा अर्बौँ खर्च गर्ने तर त्यसको प्रतिफल र जवाफदेहिताबारे मौन बस्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुभवले एउटा महत्त्वपूर्ण पाठ दिएको छ– योजना र पूर्वतयारीबिना लगानी गर्नु, लगानी गरेपछि सञ्चालनको बाटो खोज्नु र असफल भएपछि जिम्मेवारीबाट पन्छिनु विकास होइन, राज्यको स्रोतसाधनमाथिको गम्भीर लापरबाही हो। अब यस्तो प्रवृत्ति दोहोरिन दिनु हुँदैन।
प्रतिक्रिया