वाणिज्य बैंक

१९ वाणिज्य बैंकसँग ४८ अर्बको गैरबैंकिङ सम्पत्ति, कुन बैंकको कति ?

मंगलबार, ०८ मंसिर २०८३, १६ : १४

काठमाडौं- अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्दा बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ । कर्जा असुलीमा देखिएको चुनौती र आर्थिक गतिविधिमा आएको सुस्तताबीच चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति १२.११ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८३ असोज मसान्तसम्म वाणिज्य बैंकहरूको कुल गैरबैंकिङ सम्पत्ति ४८ अर्ब ४७ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ४३ अर्ब २४ करोड ३२ लाख रुपैयाँ थियो ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १९ बैंकसँग गैरबैंकिङ सम्पत्ति रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको भने यस्तो सम्पत्ति शून्य छ । समीक्षा अवधिमा गैरबैंकिङ सम्पत्ति भएका १९ बैंकमध्ये १४ वटाको बढेको छ भने पाँच वटाको घटेको छ ।

गैरबैंकिङ सम्पत्तिको आकारका आधारमा हिमालयन बैंक पहिलो स्थानमा रहेको छ । बैंकको यस्तो सम्पत्ति ७.४० प्रतिशतले बढेर ६ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको असोजसम्म बैंकसँग ५ अर्ब ९३ करोड ४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको गैरबैंकिङ सम्पत्ति ५०.९४ प्रतिशतले बढेर ५ अर्ब ८५ करोड १६ लाख रुपैयाँ पुगेको छ । प्राइम कमर्सियल बैंकको यस्तो सम्पत्ति २९.११ प्रतिशतले बढेर ५ अर्ब ४९ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति घटे पनि आकारका आधारमा अझै ठूलो छ । बैंकको यस्तो सम्पत्ति ९.५८ प्रतिशतले घटेर ५ अर्ब ४७ करोड ६१ लाख रुपैयाँ कायम भएको छ ।

नेपाल एसबिआई बैंकको गैरबैंकिङ सम्पत्ति ४१.१५ प्रतिशतले बढेर १ अर्ब ३४ करोड १६ लाख रुपैयाँ पुगेको छ । नेपाल बैंकको ३६.५५ प्रतिशतले बढेर ३६ करोड ८ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३६.२३ प्रतिशतले बढेर १ अर्ब ७२ करोड रुपैयाँ र सानिमा बैंकको २६.७६ प्रतिशतले बढेर १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी प्रभु बैंकको गैरबैंकिङ सम्पत्ति ८१.१७ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । लक्ष्मी सनराइज बैंकको ८.११ प्रतिशतले बढेर २ अर्ब ३७ करोड रुपैयाँ, एनएमबी बैंकको ६.४० प्रतिशतले बढेर १ अर्ब ८८ करोड रुपैयाँ र कृषि विकास बैंकको १०.२२ प्रतिशतले बढेर १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

सिद्धार्थ बैंकको गैरबैंकिङ सम्पत्ति १७.४८ प्रतिशतले बढेर ९० करोड रुपैयाँ पुगेको छ । त्यस्तै, माछापुच्छ्रे बैंकको ८.७१ प्रतिशतले बढेर ६५ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको ८.०३ प्रतिशतले बढेर २७ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा पाँच वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति भने घटेको छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै कुमारी बैंकको यस्तो सम्पत्ति १५.८५ प्रतिशतले घटेर २ अर्ब १२ करोड १६ लाख रुपैयाँमा झरेको छ । गत वर्षको असोजसम्म बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब ५२ करोड ११ लाख रुपैयाँ थियो ।

त्यस्तै, एभरेस्ट बैंकको गैरबैंकिङ सम्पत्ति ७.९१ प्रतिशतले घटेर ४९ करोड ५९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७.८९ प्रतिशतले घटेर ४ अर्ब १० करोड ८५ लाख रुपैयाँ र नबिल बैंकको ७.८६ प्रतिशतले घटेर ३ अर्ब १८ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा ऋणीले साँवा तथा ब्याज भुक्तानी गर्न नसकेपछि धितो लिलाम वा अन्य प्रक्रियाबाट प्राप्त गर्ने सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ । यस्तो सम्पत्ति बढ्दै जानुले कर्जा असुलीमा समस्या र बैंकको सम्पत्ति व्यवस्थापनमा चुनौती रहेको संकेत गर्छ ।

मंगलबार, ०८ मंसिर २०८३, १६ : १४

प्रतिक्रिया