काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सहमति जुटेको छ। भारतले हाल एकतर्फी रूपमा सञ्चालनमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउन सहमति जनाएको हो।
नेपाल र भारतले जारी गरेको संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा ‘बी३४५’ हवाई मार्गलाई दुईतर्फी बनाउने उल्लेख छ। यसका लागि आवश्यक कार्यविधि अन्तिम रूप दिन तथा नागरिक उड्डयनसँग सम्बन्धित अन्य प्रस्ताव टुंग्याउन दुवै देशबीच प्राविधिक परामर्श गर्ने सहमति भएको छ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भएको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा हवाई रुटको विषय सार्वजनिक गरिएको थिएन। तर, त्यसपछि जारी संयुक्त वक्तव्यमा भने भैरहवा हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति समेटिएको छ।
नेपालले थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग एक दशकभन्दा लामो समयदेखि आग्रह गर्दै आएको थियो। विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारी रूपमा सञ्चालन गर्न भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको माग थियो।
नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा सहमति जुटेसँगै भारतले पनि बागडोग्रा विमानस्थलका लागि नेपालसँग हवाई रुट मागेको विषय चर्चामा आएको थियो।
हाल सीमित हवाई प्रवेशमार्गमा निर्भर रहनुपर्दा नेपालको अन्तर्राष्ट्रिय उड्डयन क्षेत्र प्रभावित हुँदै आएको छ। भैरहवा रुट दुईतर्फी भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उडान सञ्चालन गर्न सहज हुने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि पनि नेपालका प्रधानमन्त्रीहरूको भारत भ्रमणमा हवाई रुटको विषय उठ्दै आए पनि ठोस सहमति हुन सकेको थिएन। प्राविधिक, सुरक्षा तथा हवाई क्षेत्र व्यवस्थापनसम्बन्धी विषयमा दुई देशबीच मतभिन्नता रहँदै आएको थियो। पछिल्लो सहमतिलाई नेपालको हवाई कूटनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रतिक्रिया