नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा सबै देशका लागि ६० सेकेन्डको पल्स दर लागू हुने

सोमबार, ०७ मंसिर २०८३, १६ : ३५

काठमाडौं- नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलमा लाग्ने पल्स दर परिवर्तन गर्दै अब सबै देशका लागि ६० सेकेन्डको पल्स दर लागू गर्ने भएको छ।

नेपाल टेलिकमका अनुसार यसअघि अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्डको पल्स दर कायम रहेकोमा अब सबै देशमा ६० सेकेन्डको पल्स दर कायम हुनेछ। नयाँ व्यवस्था भोलि मंसिर ८ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणबाट २०८३ भदौ २४ गते प्राप्त स्वीकृतिअनुसार पल्स दरमा परिवर्तन गरिएको नेपाल टेलिकमले जनाएको छ।

नयाँ व्यवस्था लागू भएपछि अन्तर्राष्ट्रिय एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ प्रयोग गरी सबै देशका दूरसञ्चार सेवा प्रदायकको नम्बरमा कल गर्दा ६० सेकेन्डको पल्स दर लागू हुनेछ।

यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिबमोजिम ५८ देशमा ६० सेकेन्डको पल्स दर लागू भइसकेको थियो। अब बाँकी देशमा समेत उक्त व्यवस्था लागू गर्न लागिएको हो।

नेपाल टेलिकमले विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्नका लागि फरक–फरक एक्सेस कोडको व्यवस्था गरेको छ। प्रयोगकर्ताले सुरुमा एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड र अन्त्यमा कल गर्नुपर्ने सेवा प्रदायकको नम्बर डायल गर्नुपर्नेछ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने शुल्क तथा दररेट नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट हेर्न सकिन्छ।

सोमबार, ०७ मंसिर २०८३, १६ : ३५

प्रतिक्रिया