चलचित्र विधेयकले यस क्षेत्रका आवश्यकता सम्बोधन गरेको छः सञ्चारमन्त्री डा तिमिल्सिना

सोमबार, ०७ मंसिर २०८३, १५ : ४०

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र नवीन प्रविधिबीच उद्योगका रूपमा विकास भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा चलचित्र विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलका क्रममा उनले चलचित्र क्षेत्रका वर्तमान आवश्यकता, नयाँ प्रविधि र बदलिँदो अभ्यासअनुसार कानुनी व्यवस्था परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गर्दै विद्यमान आवश्यकतालाई विधेयकले समेट्ने प्रयास गरेको बताए ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले चलचित्रलाई परम्परागत रूपमा मनोरञ्जनको साधनका रूपमा मात्र बुझ्ने गरिएको भए पनि पछिल्लो समय यो उद्योगका रूपमा विकास भइसकेको उल्लेख गरे । चलचित्रको माध्यम, स्वरूप, प्रविधि र योगदानको दायरा विस्तार हुँदै गएको अवस्थामा पुरानो कानुनले अहिलेका आवश्यकता सम्बोधन गर्न नसक्ने उनको भनाइ छ ।

“चलचित्रमा नयाँ प्रविधि आएका छन् । चलचित्र के हो भन्ने सन्दर्भमा बुझाइ नै परिवर्तन भएको छ । चलचित्र मनोरञ्जनको साधन मात्र नभई उद्योगका रूपमा विकास हुन थालेको छ । यसले योगदान गर्ने क्षेत्रको दायरा पनि बढेको छ ।”, उनले भने ।

चलचित्र क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउने उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यस क्षेत्रमा विदेशी लगानी भित्र्याउने विषयमा समेत पुनर्विचार गर्न आवश्यक रहेको बताए । उनले चलचित्र क्षेत्रले खोजेको ऐन कस्तो हो भन्ने विषयमा समिति तथा संसद्मा विस्तृत छलफल गरी प्राप्त हुने रचनात्मक सुझावलाई विधेयकमा यथासक्य समेट्ने प्रतिबद्धता व्यक्त गरे । साथै, चलचित्र क्षेत्रका विद्यमान समस्या समाधान गर्ने र सरोकारवालाका माग सम्बोधन गर्ने गरी विधेयकलाई उत्कृष्ट बनाउन अधिकतम प्रयास गरिने उनले स्पष्ट गरे ।

सञ्चार मन्त्रालयका सचिव राजेन्द्रप्रसाद पौडेलले संविधानको धारा ५१ मा व्यवस्था भएको सामाजिक तथा सांस्कृतिक रूपान्तरणसम्बन्धी नीति कार्यान्वयनका लागि नयाँ चलचित्र ऐन आवश्यक रहेको बताए । चलचित्र क्षेत्रको विकास, प्रर्वद्धन तथा नियमनलाई समयानुकूल बनाउन र अन्तरराष्ट्रियस्तरमा स्थापित सम्बन्धलाई कानुनी आधार प्रदान गर्न विधेयक आवश्यक रहेको उनको भनाइ थियो । चलचित्र विकास बोर्ड एसियन फिल्म कमिसन नेटवर्कको सदस्य रहेको तथा विश्वका विभिन्न चलचित्रसम्बन्धी संस्थासँग सम्बन्ध विस्तार हुँदै गएको प्रसङ्ग उल्लेख गर्दै सचिव पौडेलले त्यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ कानुनी व्यवस्था आवश्यक रहेको बताए ।

सरकारले २०२६ सालदेखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्दै सङ्घीय संरचना, समावेशिता र नयाँ प्रविधिअनुकूल कानुनी व्यवस्था गर्न चलचित्र विधेयक अघि बढाएको हो । चलचित्रलाई मनोरञ्जनको माध्यममा सीमित नराखी सामाजिक, सांस्कृतिक तथा सिर्जनशील उद्योगका रूपमा विकास गर्ने उद्देश्यले विधेयक ल्याइएको हो ।

प्रस्तावित विधेयकमा चलचित्रमार्फत नेपाललाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा प्रर्वद्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि अनिवार्य जाँचको व्यवस्था गर्ने तथा नेपाली चलचित्रको विकास, विस्तार, प्रर्वद्धन र नियमनलाई प्रभावकारी बनाउने प्रावधान समेटिएको छ ।

विधेयक तयार गर्दा नेपालको संविधान, राष्ट्रिय आमसञ्चार नीति, २०७३ र राष्ट्रिय चलचित्र नीति, २०७१ लाई आधार बनाइएको छ । संविधानले भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदाको संरक्षण तथा विकासलाई सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिमा समेटेकाले त्यसअनुरूप नयाँ कानुनी व्यवस्था आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी, विधेयकमा चलचित्र विकास बोर्डलाई थप अधिकार सम्पन्न, सक्षम र स्वायत्त निकायका रूपमा विकास गर्ने प्रस्ताव गरिएको छ । चलचित्र निर्माण, वितरण र प्रदर्शनलाई व्यवस्थित बनाउनुका साथै बोर्डको नियमनकारी भूमिका प्रभावकारी बनाउन कानुनी अधिकार विस्तार गर्न खोजिएको हो । चलचित्र क्षेत्रको प्रर्वद्धन, विकास र व्यवस्थापनका लागि बोर्डको कार्यक्षेत्र तथा आयस्रोत विस्तार गर्ने विषयसमेत विधेयकमा समेटिएको छ ।

त्यसैगरी, चलचित्र क्षेत्रको आर्थिक कारोबार पारदर्शी बनाउन ‘बक्स अफिस’ प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ । टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि तथा चलचित्रको लोकप्रियतासम्बन्धी विवरण पारदर्शी बनाउन ‘बक्स अफिस’ प्रणालीलाई अनिवार्य र व्यवस्थित गरिने व्यवस्था विधेयकमा गरिएको छ ।

नेपाली चलचित्र उद्योगलाई औपचारिक र व्यावसायिक उद्योगका रूपमा विकास गर्ने लक्ष्यसहित चलचित्रकर्मीको श्रम अधिकार संरक्षण, मातृभाषाका चलचित्रको प्रर्वद्धन तथा आदिवासी जनजाति समुदायका कलात्मक र बौद्धिक चलचित्रको संरक्षणमा समेत विधेयकमा जोड दिइएको छ । स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई कानुनी रूपमा व्यवस्थित गर्ने प्रावधान पनि प्रस्ताव गरिएको छ ।

नयाँ ऐन कार्यान्वयनमा आएपछि चलचित्र निर्माण, वितरण र प्रदर्शन थप व्यवस्थित हुने, जवाफदेहिता बढ्ने तथा चलचित्र विकास बोर्डको कार्यक्षेत्र र क्षमता विस्तार हुने अपेक्षा गरिएको छ । यसबाट नेपाली चलचित्रलाई सिर्जनशील, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रूपमा राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

सोमबार, ०७ मंसिर २०८३, १५ : ४०

प्रतिक्रिया