प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता, के भयो कुराकानी ?

आइतबार, ०६ मंसिर २०८३, १९ : ०५

नयाँ दिल्ली- दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री डा। एस जयशंकर पुगेका छन्। नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहलाई भेट्न विदेशमन्त्री जयशंकर पुगेका हुन्।

उनीहरूबीच भारतीय समय अनुसार साँझ ६ बजे भेट हुँदैछ। प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबारै दुईदिने राजकीय भ्रमणका लागि नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँ दिल्ली गएका हुन्, जहाँ इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भारतीय उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ सरकारी अधिकारीहरू, व्यवसायी र पत्रकारसहित ३४ सदस्य सहभागी छन्।

त्यसैगरी निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुने जनाइएको छ। विदेशमन्त्री जयशंकरसँगको भेटलगत्तै साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रम राखिएको छ। यसबाहेक आइतबारका लागि प्रधानमन्त्री शाहको अन्य औपचारिक कार्यक्रम तय भएको छैन।

भोलि मंसिर ७ गते सोमबार प्रधानमन्त्री शाहको उच्चस्तरीय भेटघाटको कार्यक्रम तय भएको छ। उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

त्यसपछि भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। सो क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारीसमेत गरिएको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार मंसिर ७ गते मध्याह्न १२ बजेर २५ मिनेटमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान एवं संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम तय भएको छ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, हवाई रुट, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा दुवै देशका नेतृत्वबीच छलफल हुनेछ। साथै दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ।

यसै क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ, जसको शिलालेख सोमबार नयाँ दिल्लीबाट डिजिटल माध्यममार्फत अनावरण गरिने र प्रत्यक्ष प्रसारण सङ्खुवासभाको चिचिला गाउँपालिका तथा खाँदबारी नगरपालिकास्थित आयोजनास्थलमा गरिने जनाइएको छ।

कुल रु ९२ अर्ब ६७ करोड लागत अनुमान गरिएको सो आयोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ढाँचामा निर्माण हुने तथा उत्पादित विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क पाउने व्यवस्था छ।

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत सहकार्यका विभिन्न क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत गरिएको छ। मंसिर ७ गते नै अपराह्न सवा ३ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

राष्ट्रपति निवासमा हुने भेटघाटपछि अपराह्न ४ बजेर ५० मिनेटमा प्रधानमन्त्री शाह नयाँ दिल्लीबाट स्वदेश प्रस्थान गर्ने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमण राष्ट्रहितमा केन्द्रित हुने जनाएको छ। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछिको यो पहिलो द्विपक्षीय औपचारिक भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्ने र दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुने अपेक्षा गरिएको छ।

आइतबार, ०६ मंसिर २०८३, १९ : ०५

प्रतिक्रिया