अपडेट

दिल्लीमा प्रधानमन्त्री बालेनलाई भारतीय राज्यमन्त्रीको स्वागत, आजै विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने

आइतबार, ०६ मंसिर २०८३, १६ : ३३

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले नयाँदिल्लीमा स्वागत गरेका छन्।

सोमबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा राज्यमन्त्री प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरेका हुन्। स्वागतका क्रममा भारतीय स्थानीय संस्कृति झल्काउने नृत्य तथा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।

प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आइतबार दिउँसो नयाँदिल्ली पुगेका थिए। विमानस्थलमा स्वागतपछि उनी मर्सिडिज गाडीमा होटल ताजमहल प्रस्थान गरेका छन्।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। जयशंकरले होटलमै पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्ने बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत पुगेका शाहले भ्रमणका क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, भारतीय प्रधानमन्त्री मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकार, उच्च सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत सहभागी छन्।

भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानवस्रोत विकासलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र ९एमओयू० आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ।

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्किने कार्यक्रम छ।

आइतबार, ०६ मंसिर २०८३, १६ : ३३

प्रतिक्रिया