नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै कमल थापा र विक्रम पाण्डे कार्यकर्ता माझ

शनिबार, ०५ मंसिर २०८३, २० : ४२

दाङ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले पार्टीभित्र नेतृत्वको एकाधिकार र निषेधको राजनीति मौलाउँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

जिल्ला दौडाहामा रहेका थापाले मंसिर ५ गते लमहीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आसन्न महाधिवेशनको पूर्वसन्ध्यामा आफूहरू भोट माग्न नभई विगत पाँच वर्षको कठोर समीक्षा र अनुभव आदानप्रदान गर्न कार्यकर्तामाझ आएको बताए ।

पार्टी संगठन सुदृढीकरण र कार्यकर्ताका गुनासा सुन्न जिल्ला दौडाहामा निस्किएको बताउँदै उनले नेतृत्वको स्वेच्छाचारी कार्यशैलीका कारण पार्टी कमजोर बन्दै गएको आरोप लगाए । जीवनमा पद र प्रतिष्ठा प्राप्त गरिसकेको भन्दै अब कुनै पदको लालसा नरहेको, तर शारीरिक, मानसिक र बौद्धिक क्षमतामा भने आफू कसैभन्दा कमजोर नरहेको उनको दाबी थियो ।

पार्टी विधानले पूर्वअध्यक्षहरूलाई स्थायी संस्थाका रूपमा परिभाषित गर्दै केन्द्रीय समिति, कार्यसम्पादन समिति, संसदीय समिति र निर्देशन समितिलगायतका निकायमा पदेन सदस्य रहने व्यवस्था गरेको स्मरण गराउँदै थापाले २०६२÷६३ को राजनीतिक परिवर्तनपछि राप्रपाले उठाउँदै आएको हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित गर्न आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले यसले विचार, सिद्धान्त र विधान परिमार्जन गर्नुका साथै आगामी पाँच वर्षको कार्ययोजना र नेतृत्व चयन गर्ने उल्लेख गर्दै थापाले प्रतिनिधिहरूले सबै नेताका विचार सुनेर विवेकपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिए ।

‘महाधिवेशन प्रतिनिधिहरूले एकहोरो कुरा मात्र सुनेर जाँदा निर्णय अपरिपक्व हुन सक्छ । नेताका कुरा चित्त नबुझे प्रतिवाद गर्नुपर्छ, तर कुरा सुन्नै नदिने अप्रजातान्त्रिक व्यवहारले पार्टी बलियो हुँदैन,’ उनले भने ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले पनि पार्टी नेतृत्वको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाए । आगामी महाधिवेशनबाट पार्टीलाई देशकै ठूलो शक्ति बनाउने र राजसंस्था तथा हिन्दु राष्ट्रको मुद्दा स्थापित गराउने उद्घोष गर्दै उनले पार्टी एउटा व्यक्तिको गोजीमा सीमित भएको आरोप लगाए ।

पाण्डेले नेतृत्वले विधानविपरीत एक व्यक्ति एक पदको नीति उल्लंघन गरेको, स्पष्टीकरणको अवसरसमेत नदिई फेसबुक र पत्रमार्फत मनलाग्दी कारबाही गर्ने गरेको बताए ।

बृहत् आन्दोलन तुहाउने षड्यन्त्र भएको दाबी गर्दै उनले कसैको इशारामा आन्दोलन रोकिएको आरोप लगाए । ‘हामीले जे प्राप्त गर्नुपर्ने हो, त्यो प्राप्त हुने बेलामा आन्दोलन तुहिन्छ भने यसको पछाडि केही न केही राज रहेको छ,’ उनले भने ।

नेतृत्वको कार्यशैलीका कारण इमानदार नेता तथा कार्यकर्ता पार्टीबाट पलायन हुन बाध्य भएको पाण्डेको भनाइ थियो । क्यान्सरसँग जुधिरहेका डा. धवलशमशेर राणालाई अस्पतालमै रहेका बेला पदमुक्त गरिएको तथा कार्यसम्पादन समितिको निर्णयसमेत कार्यान्वयन नगरेर पार्टी छोड्न बाध्य पारिएको उनले आरोप लगाए ।

त्यस्तै, रवीन्द्र मिश्र नेतृत्वको समूहलाई साढे तीन वर्षसम्म निर्वाचन आयोगमा नाम नपठाउने र साधारण सदस्यताको रसिदसमेत नदिई सुकुम्बासीको जस्तो व्यवहार गरेर पार्टी छोड्न बाध्य पारिएको पाण्डेले बताए ।

२०६२/६३ को आन्दोलनपछि कसैले बोल्न नसक्ने अवस्थामा कमल थापाले टाउकोमा कफन बाँधेर मेची–महाकाली यात्रा गर्दै हिन्दु अधिराज्य र राजसंस्थाको मुद्दा जोगाएको स्मरण गराउँदै पाण्डेले अहिले त्यही मुद्दा भजाएर खानेहरूले कमल थापा र विक्रम पाण्डे आधिकारिक नभएको भन्दै भ्रम फैलाएको आरोप लगाए ।

आफूहरू पदका लागि मात्र नभई गुमेको राजसंस्था पुनःस्थापना र पार्टीलाई परिणाममुखी बनाउन देश दौडाहामा निस्किएको स्पष्ट पार्दै पाण्डेले कार्यकर्तालाई निराश नहुन र पार्टी नछोड्न आग्रह गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य दामोदर भण्डारी, निवर्तमान जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेत, क्षेत्र नं. २ का अध्यक्ष नरबहादुर बुढाथोकीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

जिल्ला अध्यक्ष प्रेमबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष लीला यादवले दिएका थिए भने सञ्चालन जिल्ला सचिव त्रिभुवन थापाले गरेका थिए । कार्यक्रममा पार्टीका सहमहामन्त्री प्रेम बलायर, केन्द्रीय संगठन विभाग सदस्य राजाराम बर्तौला, प्रदेश सदस्य रोजिल गिरी , हिरा खड्का, पूर्वजिल्ला उपाध्यक्ष गिर्जा चौधरी, जिल्लाका क्षेत्रीय तथा प्रदेश र पालिका अध्यक्षलगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

शनिबार, ०५ मंसिर २०८३, २० : ४२

प्रतिक्रिया