अमेरिका- नेपाली मूलका प्रविधि विज्ञ डा. धर्मराज उपाध्याय अमेरिकाको प्रतिष्ठित ‘मार्क्विस हुज हू’ सम्मानका लागि चयन भएका छन्। कृत्रिम बुद्धिमत्ता (एआई), स्वास्थ्य सेवा नवप्रवर्तन तथा उद्यमस्तरीय डिजिटल रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै उनलाई सन् २०२६ का लागि ‘हनर्ड लिस्टी’ (Honored Listee) मा समावेश गरिएको हो। यो सम्मान प्राप्त गर्ने उनी पहिलो नेपाली मूलका व्यक्ति बनेका छन्।
डा. उपाध्यायले अमेरिकी संघीय निकाय, निजी क्षेत्र तथा गैरनाफामूलक संस्थाहरूमा प्रविधि नेतृत्वकर्ताका रूपमा काम गर्दै आएका छन्। उनले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) को सीबीईआर, युनाइटेडहेल्थ ग्रुप/अप्टम, ह्याकेन्स्याक मेरिडियन हेल्थ, सिटी अफ होप नेसनल मेडिकल सेन्टर र ईआरसी प्याथलाइटलगायत संस्थामा महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्।
यी संस्थामा रहँदा उनले एआई सुशासन, उद्यमस्तरीय डेटा इन्जिनियरिङ, क्लाउड प्रविधिको आधुनिकीकरण तथा क्लिनिकल इन्फर्म्याटिक्ससँग सम्बन्धित करोडौँ डलरका परियोजनाको नेतृत्व गरेका छन्।
स्वास्थ्य क्षेत्रमा प्रिसिजन मेडिसिन, क्लिनिकल अनुसन्धान र तथ्यांक विश्लेषणमा उनको योगदान उल्लेखनीय रहेको छ। बिरामीको उपचार नतिजा सुधार गर्ने, नियामकीय मापदण्डको पालना प्रभावकारी बनाउने र संस्थागत कार्यसम्पादन बढाउने उद्देश्यले उनले विभिन्न बौद्धिक डेटा प्रणाली विकास गरेका छन्। एआई तथा तथ्यांक विश्लेषणसम्बन्धी प्रविधिलाई कम लागतमा प्रभावकारी रूपमा सञ्चालन गर्न तयार पारेका कार्यविधि विभिन्न संस्थाले प्रयोग गर्दै आएका छन्।
डा. उपाध्यायसँग सूचना प्रविधि प्रणालीमा विद्यावारिधि (पीएचडी), व्यवस्थापन प्रशासनमा स्नातकोत्तर (एमबीए), विज्ञानमा स्नातकोत्तर (एमएस) तथा परियोजना व्यवस्थापनमा स्नातकोत्तर (एमपीएम) उपाधि छ। यसका अतिरिक्त उनले जर्जिया टेक, स्ट्यानफोर्ड विश्वविद्यालय, हार्वर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) लगायत विश्वप्रसिद्ध शैक्षिक संस्थाबाट १०० भन्दा बढी व्यावसायिक प्रमाणपत्र तथा विशिष्ट योग्यता हासिल गरेका छन्।
उनको शैक्षिक तथा व्यावसायिक अनुभवले जटिल प्रविधि रणनीतिलाई संस्थागत लक्ष्यसँग जोड्दै उच्च नियमन भएका क्षेत्रमा जिम्मेवार रूपमा एआई तथा मेसिन लर्निङ प्रविधि प्रयोग विस्तार गर्न सहयोग पुर्याएको छ।
मार्क्विस हुज हूको सम्पादकीय टोलीले डा. उपाध्यायको व्यावसायिक उपलब्धि र विश्वव्यापी प्रविधि नेतृत्वमा पुर्याएको योगदानको प्रशंसा गरेको छ। सम्मानसँगै उनको जीवनी मार्क्विस बायोग्राफिज अनलाइन (एमबीओ) को अभिलेखमा समावेश गरिनेछ। उक्त अभिलेखमा विश्वभरका १७ लाखभन्दा बढी विशिष्ट उपलब्धि हासिल गरेका व्यक्तिहरूको जीवनी समेटिएको छ।
एआई/एमएल, उद्यम डेटा इन्जिनियरिङ, क्लिनिकल इन्फर्म्याटिक्स र डिजिटल रूपान्तरणमा विशेषज्ञता हासिल गरेका डा. उपाध्यायको कार्यक्षेत्र स्वास्थ्य सेवा, नियामक विज्ञान तथा संस्थागत सञ्चालनमा सुरक्षित, प्रभावकारी र विस्तार गर्न सकिने प्रविधि प्रणाली निर्माणमा केन्द्रित छ।
प्रतिक्रिया