फाइल फोटो
काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्डको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै शनिबारदेखि अर्को सूचना नभएसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गर्ने जनाएको हो।
प्रशासनका अनुसार सडक माथिबाट ढुंगा तथा माटो खस्ने क्रम नरोकिएपछि उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ। जोखिम न्यूनीकरण गरी सडकलाई सुरक्षित बनाउने उद्देश्यले पहाडको माथिल्लो भाग काटेर व्यवस्थापन गर्ने काम सुरु गर्न लागिएको हो।
उक्त कामका क्रममा सम्भावित दुर्घटना हुन नदिन सवारी आवागमन पूर्ण रूपमा रोक्नुपर्ने प्रशासनले जनाएको छ।
सडक बन्द हुने समयमा सवारी सञ्चालन नहुने भएकाले यात्रु तथा चालकलाई समय मिलाएर यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। साथै, सम्भावित जाम र ढिलाइलाई ध्यानमा राखी वैकल्पिक समय व्यवस्थापन गर्नसमेत अनुरोध गरिएको छ।
प्रतिक्रिया