काठमाडौं - प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्र आगामी राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै वैचारिक मतभेद सतहमा आएको छ। पार्टीको सिद्धान्त र भावी राजनीतिक कार्यदिशाबारे केन्द्रीय तहका नेताहरूबाटै फरक धारणा सार्वजनिक हुन थालेपछि सम्मेलनअघि आन्तरिक बहस चर्किएको हो।
मंसिर २५, २६ र २७ गते चितवनमा आयोजना हुने राष्ट्रिय सम्मेलनमा पार्टीको नाम, झण्डा, निर्वाचन चिह्न र नेतृत्व चयनसँगै वैचारिक सिद्धान्तको विषय पनि प्रमुख मुद्दा बन्ने देखिएको छ। विशेषगरी मार्क्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा नेताहरूबीच मतभिन्नता देखिएको छ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य विजय केसी ‘विकल्प’ले आसन्न राष्ट्रिय सम्मेलनबाट मार्क्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्नुपर्ने धारणा अघि सारेका छन्। जनयुद्धकालका चर्चित ब्रिगेड कमान्डरसमेत रहेका केसीले सामाजिक सञ्जालमार्फत आफ्नो वैचारिक अडान सार्वजनिक गरेका हुन्।
उनले राष्ट्रिय सम्मेलनलाई नेतृत्व चयन र सांगठनिक संरचनाको फेरबदलमा मात्र सीमित गर्न नहुने बताएका छन्। पार्टीको वैचारिक पहिचान, नीति, कार्यक्रम र भावी राजनीतिक कार्यदिशा स्पष्ट गर्ने अवसरका रूपमा सम्मेलनलाई उपयोग गर्नुपर्ने उनको भनाइ छ।
केसीले श्रमजीवी वर्ग, उत्पीडित समुदाय र सीमान्तकृत जनताको मुक्ति, समानता तथा सामाजिक न्यायलाई पार्टीको राजनीतिक केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्। पार्टीलाई निर्वाचन र सत्ता प्राप्तिको प्रतिस्पर्धामा मात्र सीमित नगरी सामाजिक रूपान्तरणको आन्दोलनको अगुवाइ गर्ने राजनीतिक शक्तिका रूपमा विकास गर्नुपर्ने उनको धारणा छ।
तर, अर्का केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज नारायण नागिलाको धारणा भने यसभन्दा फरक देखिएको छ। बाबुराम भट्टराई समूहबाट प्रलोपामा आएका नागिलाले सामाजिक सञ्जालमा व्यक्त गरेको विचारमार्फत मार्क्सवाद–लेनिनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार गर्ने विषयमा असहमति जनाएका छन्।
उनले कम्युनिस्ट आन्दोलनको इतिहास, विगतका राजनीतिक नेतृत्व र अभ्यासमाथि आलोचनात्मक टिप्पणी गर्दै परम्परागत वैचारिक मान्यताको पुनर्मूल्यांकन गर्नुपर्ने धारणा राखेका छन्। उनको अभिव्यक्तिले पार्टीको वैचारिक आधार मार्क्सवाद–लेनिनवाद हुनुपर्ने मान्यतामाथि प्रश्न उठाएको देखिन्छ।
राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा दुई केन्द्रीय नेताबाट सार्वजनिक भएका फरक धारणाले प्रलोपाभित्रको वैचारिक बहसलाई थप चासोको विषय बनाएको छ। पार्टीले राष्ट्रिय सम्मेलनबाट आफ्नो भावी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरिरहेका बेला सार्वजनिक भएको यो मतभेदलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया