काठमाडौं- सिन्धुपाल्चोक जिल्लाको हेलम्बुस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य आमायाङ्ग्रीमा ‘आध्यात्मिक, साहसिक तथा सांस्कृतिक पर्यटन यात्रा ः योगी यात्रा, आरोग्य खोजी’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
न्यू भिजन नेपालको आयोजनामा, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभागको सहयोग तथा हिमालयन वेलनेस फाउन्डेसनको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा ४१ जनाको सहभागिता रहेको थियो।
प्रकृति, अध्यात्म, योग, ध्यान, स्वास्थ्य तथा नेपाली मौलिक कला र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा योग अभ्यास, ध्यान, साउन्ड हिलिङ तथा विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा योगी अशोक शर्मा भट्टले योग अभ्यास गराएका थिए भने उनकै नेतृत्वमा साउन्ड हिलिङ तथा ध्यान सत्र सञ्चालन गरिएको थियो। कार्यक्रममा न्यू भिजन नेपालका महासचिव रूपक अर्याल र देवन श्रेष्ठले समेत योग तथा ध्यान अभ्यासमा सहभागीहरूलाई साथ दिएका थिए।
त्यसैगरी, नेपाली मौलिक कला र नेवारी संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो। सबनम खड्गीले मञ्जुश्री नृत्य प्रस्तुत गरेकी थिईन् भने राजमती महर्जनले कुमारी नृत्य प्रस्तुत गरेकी थिईन्। साथै राजमती महर्जन, रेन्सी सिलवाल र पूजा खड्गीले नेवारी सांस्कृतिक नृत्य प्रस्तुत गर्नुरेका थिए।

कार्यक्रमका सांस्कृतिक नृत्यहरूको संयोजन तथा तयारी न्यू भिजन नेपालकी कोषाध्यक्ष सबनम खड्गीले गरेकी हुन्। उनले कार्यक्रमको सहजीकरणसमेत गरेकी थिईन्।
आमायाङ्ग्रीको प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र आध्यात्मिक वातावरणमा सम्पन्न यस यात्राले सहभागीहरूलाई योग, ध्यान, आत्मचिन्तन तथा सांस्कृतिक पहिचानसँग जोडिने अवसर प्रदान गरेको थियो।
कार्यक्रमले नेपालको प्राकृतिक सम्पदा, धार्मिक स्थल, मौलिक संस्कृति र आध्यात्मिक पर्यटनलाई एकैसाथ जोड्दै स्वस्थ जीवनशैली र आरोग्य पर्यटनको सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ।
न्यू भिजन नेपालले आगामी दिनमा पनि योग, ध्यान, साउन्ड हिलिङ, नेपाली कला, संस्कृति तथा आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने लक्ष्य राखेको छ।
प्रतिक्रिया