काठमाडौं - तत्कालीन सोभियतसँघको बिघटनपछि बनेको एक ध्रुवीय विश्वमा बिस्तारै बहु केन्द्रहरु निर्माण हुन थालेका छन् । एक्लो सुपर पावर बनेको अमेरिका आजको दिनसम्म आइपुग्दा रक्षात्मक बन्दै गएको छ । खासगरी डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिका विश्व मञ्चमा एक्लिदै गएको छ । लोकतन्त्र र मानवअधिकारको सबैभन्दा ठूलो ठेकेदार ठान्ने अमेरिका अहिले मैमत्त साँढे बनिरहेको जगजाहेर नै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अर्को साता चीनमा हुने शिखर सम्मेलनका अवसरमा भेटवार्ता गर्ने तयारीलाई निकै चासोका साथ हेरिएको छ ।
सो भेटवार्तामा ट्रम्पले विश्वमा आणविक हतियारको सङ्ख्या घटाउनेलगायत विभिन्न विषयमा छलफल गर्ने बताइएको छ । आणविक हतियारको विस्तार अत्यन्त खतरनाक रहेको ट्रम्पको बुझाइ रहेको पनि उनी सम्बद्ध स्रोतले बताएको छ । विश्वका तीन ठूला आणविक शक्तिका नेताबीच हुने उक्त बैठकमा इरानको विषयमा पनि छलफल हुन सक्ने अनुमान गरिएको छ । तर, युक्रेनको विषय भने छलफलमा नउठ्ने बताइएको छ । यद्यपि, रुस र चीनले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । इरान युद्धमा सोचे जस्तो परिणाम नआएपछि ट्रम्प निकै रक्षात्मक बनेको बताइएको छ ।
भेटवार्ताकै क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग छुट्टै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ । सन् २०२५ मा दोस्रो पटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्प र सीबीच हुन लागेको यो चौथो भेट हुनेछ । समकालीन विश्व राजनीतिमा रुसी राष्ट्रपति पुटिन र राष्ट्रपति सी शक्तिशाली र निर्णायक पात्रका रुपमा स्थापित भैसकेका छन् । त्यसैले ट्रम्प उनीहरुप्रति आशावादी रहेको देखिएको छ । यी विश्व नेताहरुको जमघट र भेटवार्ताले विश्वमा नयाँ समीकरण बन्ने विश्लेषण हुन थालेको छ । यता दक्षिण एसियामा उदाउँदो शक्तिकेन्द्रको रुपमा रहेको भारत पनि महत्वपूर्ण साझेदार बन्ने स्थिति आएको छ । यसले नयाँ केन्द्र निर्माण हुने संकेत पनि गरेको छ ।
आज शीतयुद्धको अन्त्यतिर विकसित भएको आणविक हतियार नियन्त्रणसम्बन्धी सहकार्य पनि समाप्त भएको छ । संयुक्त राष्ट्रसङ्घले दुवै मुलुकलाई जतिसक्दो चाँडो नयाँ सम्झौता गर्न आग्रह गर्दै आएको छ ।
इरानमा जारी युद्ध अमेरिका र चीनबीच मतभेदको एउटा प्रमुख कारण बनेको अवस्थामा ट्रम्पले भने पुरानो सम्झौताको सट्टा चीनलाई समेत समेटेर अझ राम्रो सम्झौता गर्न सकिने बताउँदै आएका छन् । चीनले पनि आफ्नो आणविक हतियार भण्डार विस्तार गरिरहेको छ । चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हुनुका साथै इरानको प्रमुख व्यापारिक साझेदारसमेत हो । विश्वमै आर्थिक नेतृत्व गर्ने हैसियत राखेको चीन यसकारण पनि राष्ट्रपति ट्रम्पको लागि भरोसाको केन्द्र बनेको छ ।
प्रतिक्रिया