राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड

घाटामा गयो राष्ट्रिय जीवन बीमा कम्पनी, कसले लिने जिम्मेवारी ?

आइतबार, २९ कार्तिक २०८३, १५ : १०

 काठमाडौं - मुलुकमा राम्रो ख्याती कमाएको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड घाटामा गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६५ लाख ४४ हजार रुपैयाँ खुद घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी यस वर्ष घाटामा पुगेको हो।

कम्पनीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको खुद बीमाशुल्क आर्जन भने बढेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले ४ अर्ब ८१ करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ४ अर्ब ५० करोड ४६ लाख रुपैयाँ रहेको थियो। यस आधारमा कम्पनीको खुद बीमाशुल्क ६.९८ प्रतिशतले बढेको देखिन्छ।

कम्पनीको कुल आम्दानी भने गत वर्षको तुलनामा घटेको छ। समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ५ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ थियो। यसरी कुल आम्दानी २.९६ प्रतिशतले घटेको छ।

 लगानी तथा कर्जाबाट हुने आम्दानीमा उल्लेख्य कमी आएको देखाउँछ। यता प्रतिशेयर आम्दानी २।६८ रुपैयाँबाट घटेर ३।६२ रुपैयाँ ऋणात्मक भएको छ।

कम्पनीको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ। तर सञ्चित नोक्सानी बढेर ४ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ पुगेको छ। यसअघि सञ्चित नोक्सानी ३ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ थियो। फलस्वरूप कम्पनीको कुल इक्विटी ४ अर्ब ३१ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

आइतबार, २९ कार्तिक २०८३, १५ : १०

प्रतिक्रिया