प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, पञ्चेश्वरदेखि हवाई रुटसम्मका एजेण्डा तय

आइतबार, २९ कार्तिक २०८३, १५ : २४

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो पहिलो औपचारिक विदेश भ्रमण भारतबाट गर्ने तयारी तीव्र पारेका छन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक भारत जान लागेका बालेनले भ्रमणलाई द्विपक्षीय सम्बन्ध विस्तारसँगै वर्षौंदेखि थाती रहेका आयोजना र पूर्वाधार विकासका मुद्दा टुंग्याउने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका छन्।

भ्रमणको मिति र विस्तृत कार्यतालिका दुवै देशका परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा सार्वजनिक गरिसकेका छैनन्। यद्यपि, कूटनीतिक तथा प्रशासनिक संयन्त्रहरू भने प्रधानमन्त्रीको दिल्ली भ्रमणको तयारीमा जुटिसकेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंसिरको पहिलो साताभित्र भारत भ्रमण गर्ने गरी आन्तरिक गृहकार्य भइरहेको छ।

यसपटकको भ्रमणमा नेपाल–भारतबीच विगतमा भएका सम्झौता र सहमति कार्यान्वयनलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ। दशकौँदेखि चर्चामा रहे पनि अपेक्षित प्रगति हुन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, महेन्द्रनगरमा सुक्खा बन्दरगाह निर्माण तथा अन्य द्विपक्षीय आयोजनालाई कार्यान्वयनको चरणमा लैजाने विषय नेपालका प्रमुख एजेन्डा हुनेछन्।

त्यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा व्यावसायिक सञ्चालनका लागि आवश्यक नयाँ हवाई प्रवेश मार्ग ९एयर इन्ट्री रुट० उपलब्ध गराउन भारतलाई सहमत गराउने विषय पनि भ्रमणको महत्त्वपूर्ण एजेन्डा बन्ने देखिएको छ।

यसैगरी, पछिल्लो समय भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले क्षति पुर्‍याएका भौतिक संरचना तथा पूर्वाधारको पुनर्निर्माणका लागि नेपालले भारतसँग आर्थिक सहयोगको अपेक्षा गरेको छ। परराष्ट्र स्रोतका अनुसार भ्रमणका क्रममा सहुलियतपूर्ण ऋण र अनुदानसहित दुई अर्ब अमेरिकी डलरभन्दा बढी सहयोगको प्रस्ताव अघि सार्ने तयारी छ।

पूर्वाधार पुनर्निर्माणमा भारतीय लगानी र प्रविधि भित्र्याउने, द्विपक्षीय आयोजनालाई गति दिने तथा सीमा समस्याको समाधान खोज्ने विषयलाई पनि नेपालले प्राथमिकतामा राख्नेछ।

यता, भारतले भने नेपालको पछिल्लो भू–राजनीतिक गतिविधि तथा तेस्रो मुलुकसँग बढ्दो कूटनीतिक र आर्थिक सम्बन्धलाई आफ्नो सुरक्षा संवेदनशीलतासँग जोडेर छलफलमा उठाउन सक्ने कूटनीतिक मामिलाका जानकारहरूको आकलन छ।

विगतका उच्चस्तरीय भ्रमणमा ठूला सहमति र संयुक्त वक्तव्य जारी भए पनि कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको विषय यसपटक पनि चुनौतीका रूपमा रहनेछ। कूटनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेनले नयाँ प्रतिबद्धता जुटाउनेभन्दा पनि पुराना सहमति कार्यान्वयनको स्पष्ट कार्यतालिका, जिम्मेवारी र समयसीमा तय गराउन जोड दिनुपर्नेछ।

यसैबीच, नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले जनकपुरधाम र अयोध्याधामलाई प्रत्यक्ष रेल सेवामार्फत जोड्ने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा चार जना मन्त्री सहभागी हुने भएका छन्। स्रोतका अनुसार प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेश’ रहनेछन्।

समग्रमा प्रधानमन्त्री बालेनको पहिलो भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका पुराना मुद्दा सम्बोधन गर्ने, आर्थिक तथा पूर्वाधार सहयोग जुटाउने र द्विपक्षीय सहमतिको कार्यान्वयन सुनिश्चित गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणबाट हुने उपलब्धिले आगामी दिनमा नेपालको छिमेक कूटनीतिको दिशा र प्राथमिकता निर्धारणमा समेत प्रभाव पार्नेछ।

आइतबार, २९ कार्तिक २०८३, १५ : २४

प्रतिक्रिया