काठमाडौं- करिब २२ करोड रुपैयाँ बराबरको कोकिनसहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
हवाई मार्ग हुँदै लागुऔषध ओसारपसार हुन सक्ने आशंकामा शंकास्पद व्यक्तिहरूको निगरानी तथा प्रोफाइलिङ गर्ने क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिघरी कात्तिक २८ गते थाइल्याण्डबाट काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई नियन्त्रणमा लिइएको हो ।
अनुसन्धानका क्रममा उनी यसअघि लाओसबाट दुई पटक नेपाल आएको खुलेको छ । पहिलो पटक हवाई मार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेको एसपी रेग्मीले बताए ।
प्रतिक्रिया