निर्जीवन बीमा

निर्जीवन बीमामा मोटर र सम्पत्ति बीमाको दबदबा, एक महिनामै साढे ४ अर्ब बीमाशुल्क संकलन

आइतबार, २९ कार्तिक २०८३, १२ : ०९

काठमाडौं- निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर र सम्पत्ति बीमाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ । सवारीसाधनको बढ्दो प्रयोग, मोटर बीमासम्बन्धी अनिवार्य व्यवस्था तथा सम्पत्तिको बीमा गर्ने प्रवृत्ति बढ्दै जाँदा यी दुई क्षेत्र निर्जीवन बीमा कम्पनीका प्रमुख व्यवसाय बनेका हुन् ।

चालु आर्थिक वर्ष २०८३र८४ को साउन महिनामा १४ वटा निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रका कुल २ लाख ५४ हजार ६०० बीमालेख जारी गरेका छन् । ती बीमालेखमार्फत कम्पनीहरूले करिब ४ अर्ब ५० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

कम्पनीहरूले साउनमा मात्रै १ लाख २५ हजार ४३१ वटा मोटर बीमालेख जारी गरेका छन् । यसबाट १ अर्ब २२ करोड २९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । त्यस्तै, सम्पत्ति बीमाअन्तर्गत ३६ हजार ७७० वटा बीमालेख जारी हुँदा १ अर्ब ६५ करोड ७१ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन भएको छ ।

बीमालेख संख्याका आधारमा मोटर बीमा पहिलो स्थानमा रहे पनि बीमाशुल्क आर्जनका हिसाबले सम्पत्ति बीमा अगाडि देखिएको छ । यसले निर्जीवन बीमा व्यवसायमा यी दुई क्षेत्रको प्रभाव र योगदान उच्च रहेको देखाउँछ ।

अन्य बीमा व्यवसायतर्फ साउन महिनामा सामुद्रिक बीमाका ३० हजार ५९१, हवाई बीमाका २६, इन्जिनियरिङ तथा ठेक्का–जोखिम बीमाका ९ हजार ६३२ र विविध बीमाका १३ हजार ६५४ वटा बीमालेख जारी भएका छन् ।

त्यसैगरी कृषि तथा बाली बीमाका १८ हजार ६४०, लघु बीमाका २५ हजार ६९२, दायित्व बीमाका १०२ र स्वास्थ्य बीमाका २ हजार ५४ वटा बीमालेख जारी भएका छन् ।

प्रदेशगत रूपमा बागमती प्रदेश निर्जीवन बीमा व्यवसायको प्रमुख केन्द्र बनेको छ । त्यसपछि क्रमशः लुम्बिनी, कोशी, मधेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् ।

बागमती प्रदेशमा मोटर र सम्पत्ति बीमासँगै सामुद्रिक, हवाई, इन्जिनियरिङ तथा ठेक्का–जोखिम, विविध, कृषि तथा बाली, लघु, दायित्व र स्वास्थ्य बीमालगायतका सबैजसो क्षेत्रमा तुलनात्मक रूपमा बढी व्यवसाय केन्द्रित देखिएको छ ।

आइतबार, २९ कार्तिक २०८३, १२ : ०९

प्रतिक्रिया