काठमाडौं- हिमालयन बुलियन कम्पनी लिमिटेड र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ग्राहकको दुर्घटना बीमा गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार हिमालयन बुलियनका ग्राहकले सदस्यताको तहअनुसार अधिकतम १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउने भएका छन् ।
गरगहनासम्बन्धी व्यवसायमा विगत २५ वर्षदेखि सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र लगानीलाई प्राथमिकतामा राख्दै उक्त सम्झौता गरेको जनाएको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी तीन तहको सदस्यता कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ ।
सम्झौताअनुसार कम्पनीका सिल्भर सदस्यले १ लाख रुपैयाँसम्म, गोल्ड सदस्यले ५ लाख रुपैयाँसम्म र डायमन्ड सदस्यले १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् । उक्त बीमा सुविधा आगामी बडादसैँको घटस्थापनादेखि लागू हुने कम्पनीले जनाएको छ ।
ग्राहकको सुरक्षा र व्यावसायिक जिम्मेवारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँग सहकार्य गरिएको हिमालयन बुलियनले जनाएको छ ।
यस सम्झौतामार्फत कम्पनीले आफ्ना ग्राहकलाई गरगहनासम्बन्धी सेवा र सुविधासँगै अतिरिक्त सुरक्षा प्रदान गर्ने लक्ष्य लिएको छ । सदस्यता कार्यक्रममार्फत ग्राहकको आवश्यकता र सदस्यताको तहअनुसार बीमा सुविधा उपलब्ध गराउने कम्पनीको योजना छ ।
प्रतिक्रिया