काठमाडौं - नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ। यो असोज मसान्तसम्मको अभिलेख हो ।
तीन महिनामा व्यावसायिक प्यान ५२ हजार ९२५ र व्यक्तिगत प्यान २ लाख ३१ हजार २२७ थपिएका छन्।
भ्याटमा दर्ता हुने करदाता ३ लाख ९० हजार र अन्तःशुल्कमा दर्ता हुने १ लाख ३८ हजार नाघेका छन्।
नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८१ लाख नाघेको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को असोज मसान्तसम्म विभिन्न प्रकारका प्यान लिनेको कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो।
भुक्तानीमा करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बरको संख्या पनि बढेको छ। असोज मसान्तसम्म यस्तो संख्या ३९ हजार ५६२ पुगेको छ। गत असार मसान्तसम्म ३९ हजार १६४ रहेकोमा तीन महिनामा ३९८ वटा थपिएका हुन्।
यसैगरी, मूल्य अभिवृद्धि कर ९भ्याट० मा दर्ता भएका करदाताको संख्या ३ लाख ९० हजार ४७ पुगेको छ। गत असार मसान्तसम्म ३ लाख ७८ हजार २६८ रहेको यस्तो संख्या तीन महिनामा ११ हजार ७७९ ले बढेको हो।
अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या पनि बढेको छ। गत असार मसान्तसम्म १ लाख ३२ हजार ६७२ रहेको यस्तो संख्या असोज मसान्तसम्म १ लाख ३८ हजार ९२६ पुगेको छ। यस अवधिमा ६ हजार २५४ करदाता थपिएका छन्।
प्यान, भ्याट र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या बढ्दै जानुले कर प्रशासनको दायरामा थप व्यक्ति तथा व्यवसाय समेटिँदै गएको देखाउँछ। तर, दर्ता संख्या बढ्नु मात्रै कर राजस्वमा समानुपातिक वृद्धि भएको प्रमाण भने होइन। त्यसका लागि सक्रिय करदाता, करयोग्य कारोबार र वास्तविक राजस्व संकलनको तथ्यांकसमेत विश्लेषण गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया