मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै शून्य प्रिमियममा कर्जा पाइने

सोमबार, ३० कार्तिक २०८३, १३ : ४२

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘एसएमई महोत्सव’ सञ्चालनमा ल्याएको छ । लक्ष्मी पूजाको अवसर पारेर २०८३ कार्तिक २२ गतेदेखि सुरु भएको उक्त अभियान आगामी पुस मसान्तसम्म सञ्चालन हुनेछ ।

महोत्सवअन्तर्गत बैंकले व्यवसायी तथा उद्यमीलाई विशेष कर्जा सुविधा उपलब्ध गराएको छ । यस योजनाअनुसार अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको व्यवसाय कर्जा मुक्तिनाथ विकास बैंकमा स्वाप (स्थानान्तरण) गर्दा आधार दरमै शून्य प्रतिशत प्रिमियममा कर्जा प्राप्त गर्न सकिनेछ ।

बैंकका अनुसार यस योजनाले व्यवसायीलाई सहज, सरल र प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै वित्तीय व्यवस्थापन सहज बनाउन सहयोग पुर्‍याउनेछ । विशेषगरी साना तथा मझौला उद्यमीलाई लक्षित गरी ल्याइएको यस अभियानले व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक वित्तीय स्रोतमा पहुँच बढाउने विश्वास बैंकले लिएको छ ।

ग्राहकको आवश्यकता, व्यवसायको सम्भावना र उद्यमशीलताको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै बैंकले विभिन्न वित्तीय सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । ‘एसएमई महोत्सव’ पनि उद्यमशीलताको विकास, व्यवसायीलाई थप वित्तीय अवसर प्रदान तथा ग्राहकसँगको सम्बन्ध सुदृढ बनाउने उद्देश्यसहित ल्याइएको बैंकले जनाएको छ ।

यस योजनाबाट लाभ लिन इच्छुक व्यवसायी तथा उद्यमीले बैंकका नजिकका शाखा कार्यालयमा सम्पर्क गरी थप जानकारी लिन सक्नेछन् ।

सोमबार, ३० कार्तिक २०८३, १३ : ४२

प्रतिक्रिया