काठमाडौं । वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदरअनुसार अधिकांश बैंकले कात्तिककै दरलाई निरन्तरता दिएका छन् भने ६ वटा बैंकले ब्याजदर घटाएका छन्। मंसिरका लागि कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
२० वाणिज्य बैंकमध्ये १४ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत् राखेका छन्। बाँकी ६ बैंकले भने ब्याजदर घटाएका हुन्।
मंसिर महिनामा व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक सानिमा बनेको छ। सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ। यो दर कात्तिक महिनाकै निरन्तरता हो।
सानिमापछि एनएमबि र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.२५ प्रतिशत ब्याज दिने भएका छन्। नेपाल बैंकले भने ४.१५ प्रतिशतसम्म ब्याजदर तोकेको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर माछापुच्छ्रे बैंकको रहेको छ। बैंकले अधिकतम ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। त्यस्तै, कुमारी बैंकले ३.६१ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड र कृषि विकास बैंकले ३.६५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
संस्थागत निक्षेपतर्फ पनि सानिमा बैंकले सबैभन्दा बढी ३.५१ प्रतिशत ब्याज दिने भएको छ। नेपाल बैंकले ३.५ प्रतिशत तथा एभरेष्ट, लक्ष्मी सनराइज, हिमालयन र एनएमबि बैंकले ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
यस्तै, कुमारी, स्ट्यान्डर्ड चार्टर्ड, कृषि विकास, नबिल, सिटिजन्स, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र प्रभु बैंकले संस्थागत निक्षेपमा न्यूनतम २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
यी ६ बैंकले घटाए ब्याजदर
मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाउने बैंकको संख्या ६ रहेको छ। संस्थागत निक्षेपतर्फ भने एनएमबि बैंकले मात्रै ब्याजदर घटाएको छ।
एनएमबि बैंकले संस्थागत निक्षेपको न्यूनतम ब्याजदर ३.५० प्रतिशतबाट ०.२५ प्रतिशत विन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ।
व्यक्तिगत मुद्दती निक्षेपतर्फ माछापुच्छ्रे बैंकले सबैभन्दा धेरै १ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ। बैंकले यसअघि ४.५ प्रतिशत रहेको अधिकतम ब्याजदरलाई घटाएर ३.५ प्रतिशतमा झारेको छ।
त्यस्तै, कृषि विकास बैंकले ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत, एनएमबि बैंकले ०.२५ प्रतिशत विन्दुले घटाएर ३.२५ प्रतिशत तथा लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.७५ प्रतिशत कायम गरेका छन्।
कुमारी बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ३.७ प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशतमा सीमित गरेका छन्।
बैंकहरूले सार्वजनिक गरेका यी अधिकतम ब्याजदर सामान्यतया पाँच वर्ष वा सोभन्दा बढी अवधिका मुद्दती निक्षेपका लागि लागू हुने दर हुन्। एकवर्षे मुद्दती निक्षेपमा भने अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर कायम गरेका छन्। यो दर नेपाल राष्ट्र बैंकले निर्धारण गरेको ब्याजदर करिडोरको तल्लो सीमासमेत हो।
प्रतिक्रिया